PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

कप्तान पारस खड्का भन्छन् - ब्याटिङ नै हाम्रो ठूलो समस्या, के छ डचविरुद्ध रणनीति?



पहिलोपोस्ट

कप्तान पारस खड्का भन्छन् - ब्याटिङ नै हाम्रो ठूलो समस्या, के छ डचविरुद्ध रणनीति?

  • मनोज सत्याल/गोविन्दराज नेपाल
काठमाडौँ : फिलिप ह्युजको ट्रिब्युट म्याचका लागि नेपाल आएका क्रिकेट अष्ट्रेलियाका तत्कालिन चेयरमेन वाली एड्रोजले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सफलताको मन्त्र सुनाए।

'कुनै पनि टिम सक्सेसफूल हुनका लागि उनीहरुको अनफिल्ड टिम जति बलियो छ,अफफिल्ड टिम पनि त्यति नै राम्रो हुन जरुरी छ', एड्रोजको भनाईले पारस प्रभावित भए।

एड्रोजको कुरा सम्झँदै पारस भन्छन् - 'के फिल भयो भने अन फिल्ड र अफ फिल्ड टिमले एक अर्कालाई कम्प्लिमेन्ट गरेर मात्र वर्ल्ड क्रिकेटमा टप पोजिसनमा पुग्न सकिने रहेछ।'

कीर्तिपुरको मैदानमा केही समयअघि प्राक्टिसमा व्यस्त पारसले हामीसितको कुराकानीमा भने - 'हामीले क्रिकेट सुधार गर्ने हो भने पहिला क्यान र घरेलु संरचना सुधार्नु पर्छ। घरेलु क्रिकेटको संरचना जबसम्म तयार हुँदैन माथिल्लो स्तरको क्रिकेटमा राम्रो गर्छु भन्नै सक्दैनौँ।'

*****
नेपाली राष्ट्रिय क्रिकेट टोली ११ जुलाईमा लण्डन उत्रँदैछ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि लण्डन जान लागेको नेपाली टोलीले लर्डस् क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल खेल्नेछ। १९ जुलाईमा हुने उक्त खेल अघि नेपाली टोलीले अन्य चार खेल खेल्ने तय भइसकेको छ।

एमसिसीसँगको म्याचअघि नेपाली टोलीले फिटनेसमा ज्यादा जोड दिएर तयारी गरेको छ। एमसिसीसँगको खेललाई नेपाली टोलीले अगस्टमा हुने नेदरल्याण्डविरुद्धको वर्ल्ड क्रिकेट लिगको तयारीको रुपमा हेरेको छ।

के छ नेदरल्याण्डविरुद्धको तयारी?

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का नेदरल्याण्डविरुद्धको खेलमा फास्ट बलरलाई उतार्ने तयारीमा छन्।

खेलाडी छनौट समितिमा समेत रहेका कप्तान पारस खड्काले पहिलोपोस्टसँगको कुराकानीमा फास्ट बलरहरुलाइ महत्त्व दिएको बताए। लिगको अङ्क तालिकामा पहिलो स्थानमा रहेको नेदरल्याण्डविरुद्को खेललाई पारसले सिरियसली लिएका छन्।

'हामीले यहाँ पनि हरियो पिच बनाएर सिमिङ कण्डिसन बनाएर प्राक्टिस गरेका छौँ।त्यसले हेल्प गर्नेछ', पारस तयारीबारे भन्छन्।
 
'ब्याटिङमा भने पहिलाकै प्लेयरसँग डिपेन्डेट हुनुपर्छ। नेदरल्याण्ड हाम्रो लागि गाह्रै कण्डिसन छ', पारस भन्छन्।
 
नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा शरद् भेषावकरलाई तेश्रो नम्बरमा ब्याटिङमा उतारेको नेपालले त्यसलाई निरन्तरता दिने सोच बनाएको छ। नामिबियाविरुद्धको दुवै खेलमा शरद् म्याच फिनिसर बनेका थिए।

'नामिबियाविरुद्ध शरद्ले एकदमै राम्रो खेल्यो। कन्डिसन अनुसार इन्डिभिजुअल प्लेयरले निश्चित भूमिका पाउँछन्', पारस भन्छन्, 'अब हामी उसँग पनि सोध्छौँ ऊ अगाडि आउन कति कम्फर्टेबल छ।' उनले टिमले फोकस भएर खेलमा तयारी गरिरहेको बताए।

वर्ल्ड क्रिकेट लिगमा नेपालले स्कटल्याण्ड र पपुवा न्युगिनीविरुद्धको खेल गुमाइसकेको छ। नामिबियाविरुद्धको दुवै खेलमा भने नेपालले जित हात पारेको छ। विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा नेपाल हाल छैठौँ स्थानमा रहेको छ।
 
 
नामिबियाविरुद्ध घरेलु मैदानमा होम कण्डिसनमा जितेको पारस याद गर्छन्। 'नेदरल्याण्डविरुद्ध पनि नेपाली आउने नै छन्।सपोर्ट त हामीले पाइहाल्छौँ', उनी भन्छन्।

नेपालले गत वर्ष नामिबियामा भएको ५० ओभरको खेलमा नेदरल्याण्डलाई हराएको थियो। त्यसैले पनि नेपाली टोलीको मोरल नेदरल्याण्ड विरुद्ध उँचो छ। त्यतिबेला नेपालले नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको थियो। नेदरल्याण्डलाई एक बल अगावै १५८ रनमा आउट गर्ने क्रममा कप्तान पारससहित सोमपाल कामी बसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट लिएका थिए।

जवाफमा नेपालले उक्त चुनौती ३ बल अगावै ८ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ३५ रन बनाएको इनिङमा सागर पुन र सोमपाल कामीले समान २४ रनको योगदान गरेका थिए।

'वर्ल्ड क्रिकेट लिगमा बलिङ मात्र राम्रो गरेर फिल्डिङ मात्र राम्रो गरेर हुन्न,अल थ्री डिपार्टमेन्ट कभर गर्नुपर्छ', पारस भन्छन्, 'नामिबियाविरुद्ध कीर्तिपुरमा हामीले बलिङ फिल्डिङ र ब्याटिङनै राम्रो गर्‍यौँ।'

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा कुनैपनि टोलीलाई कमजोर नआकेको पारस बताउँछन्। के छ त नेदरल्याण्डसँग जितको नेपालको रणनीति?

पारसको सिधा जवाफ छ - 'ब्याटिङ ह्याज टू क्लिक। किनकी ब्याटिङ नै हो हाम्रो सबैभन्दा ठूलो हर्डल।'

बलरको एकल प्रयासले मात्र जित्न नसकिने उनको भनाई छ।
 
'फिटनेसमा बढी ध्यान दिएका छौँ', पारस भन्छन्, 'वर्ल्ड क्रिकेट हेर्दा पनि फिट प्लेयरले राम्रो गरिराखेका छन्। नेपाली प्लेयरमा स्किल छ,त्यसलाइ डेभलप गरेर, अगस्ट१३ र १५ मा एउटा फूल फ्लेज परफरमेन्स गर्नुछ।'

शीर्ष चारको सम्भावना कति?

पारस नेपाली टोलीले सुधार गर्नुपर्ने धेरै पक्ष रहेको बताउँछन्। 'हरेक चोटी वि ह्याभ टु किप इम्प्रुभिङ,वि आर वर्किङ अन बलिङ फिल्डिङ् एण्ड ब्याटिङ।' उनी २ देखि ३ महिनाको बीचमा हुने खेलमा परफरमेन्सको दबाब हुने बताउँछन्।

'हामीले एक्सक्युज दिन सक्दैनौँ किनभने २ महिना ३ महिनाको ब्रेकमा अर्को म्याच हुन्छ', पारस भन्छन् -'इन टिउन भइराख्नुपर्छ।' 'अबको हरेक खेल उतिनै महत्वपुर्ण र चुनौतीपुर्ण छ। यसो भन्दैमा हामी पछि हट्नु हुँदैन एभ्री म्याच राम्रो गर्ने हाम्रो प्रयास हुनेछ।'

नेपालले वर्ल्ड क्रिकेट लिग डिभिजनमा यस अघिका खेलहरु जित नजिक भएर पनि  गुमाएको थियो।

'जति पनि म्याच भइराख्छ वर्ल्ड क्रिकेट लिगमा हामीले राम्रो गरिरहेका छौँ । अहिलेसम्म ६ वटा म्याच भयो । ४ वटामा हार्‍यौँ २वटामा जित्यौँ। हारेका मध्ये ३ वटामा हामी एकदमै क्लोज थियौँ।'
 
स्कटल्याण्ड विरुद्धको पहिलो खेल नेपालले ३ रनले गुमाएको थियो। उक्त खेलमा ओपनर अनिल मण्डले शतक प्रहार गरेका थिए तर २३६ रनको लक्ष्य पछ्याएको नेपाल २३२ रनमै समेटियो।

स्कटल्याण्डविरुद्धकै अर्को खेलमा भने नेपाल ९ विकेटले हारेको थियो।

यस्तै पपुवा न्युगिनीविरुद्धको खेलमा पनि नेपाल करिब करिब जितको नजिक थियो तर बलियो मानिएको बलिङ नै खेलको अन्त्यतिर चुक्दा नेपाल पुपुवा न्युगिनी विरुद्ध पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ३ विकेटले हार्न पुग्यो।

पारस नेपालले नराम्रो खेलेर भन्दा पनि लकले फेभर नगर्दा हारेको बताउँछन्। 'हाम्रो दिन भएको भए,हाम्रो फेभरमा आउन सक्थ्यो', उनी चुकचुकाउँछन्।

'त्यो दिनमा कस्तो क्रिकेट खेल्छौँ भन्ने कुराले डिपेन्ड गर्छ', पारस भन्छन्



*****

घरेलु क्रिकेटको समस्या


नेपाली क्रिकेट टोली नेदरल्याण्डविरुद्ध उत्रनुअघि आइसिसीले यतिबेला नेपालको क्रिकेट संघमाथिको प्रतिबन्ध अनुमोदन गरेको छ।
पारस नेपाली क्रिकेटको अहिलेको व्यवस्थापनको अवस्था प्रति सन्तुष्ट छैनन्।

'नेशनल टिम भनेको विगतको ५देखि ८ वर्षको बीचमा एउटा ब्याचले राम्रो खेलेकै कारण चलेको छ', पारस भन्छन्,' तर ती बाहेकका प्लेयर पनि छन् जसले मौका पाएका छैनन्।'

नयाँ प्लेयरले मौका नपाउनुको कारण औँल्याउँदै पारस खिन्नता प्रकट गर्छन् - 'डोमेस्टिक क्रिकेट नसुधारेसम्म हामी फुलफ्लेज सिस्टममा जान एकदमै गाह्रो हुन्छ।प्लेयरहरु इन्भल्भ भइराख्नु पर्‍यो। नेशनल टिम, ए टिम, अण्डर १९ टिम हुनुपर्‍यो। त्यो सबको टुर्नामेन्ट हुनुपर्‍यो।'

पारसलाई खिन्नता प्रतिष्पर्धाको अभावसँगै क्यानको लगातारको विवादले पनि तुल्याएको छ।

'क्यानको विवाद सबैभन्दा पहिला मिल्नुपर्‍यो। क्यान नभइ क्रिकेट चल्दैन। क्रिकेट चलाउने आधिकारिक कमिटी हो क्यान। जो पनि क्यानमा आउनुहुन्छ त्यो रेस्पोन्सिबिलिटी लिएर आउनुपर्‍यो जसरी खेलाडीहरुले जिम्मेवारी लिएर खेलका छन्।'
 
एड्रोजको भनाईबाट प्रभावित पारस भन्छन् - 'व्यवस्थापनले आफ्नो जिम्मेवारी अफ द फिल्ड राम्रो निभाउनु पर्‍यो।'

टेस्ट नेसनभन्दा हामी माथि

आइसिसीले डिभिजन क्रिकेट खेलिरहेका राष्ट्रहरुलाई समेटेर टेस्ट खेलाउन गरेको प्रस्तावमा पारस उत्साहित छन्।

'नेपाललाई आइसिसीको चिफ एक्जुकेटिभले कन्सिडर गरेका छन्', पारस क्रिकेटमा नेपालको भविष्यप्रति उत्साही हुँदै भन्छन् - 'क्रिकेटको माहौल एकदमै राम्रो छ नेपालमा।ननटेस्ट प्लेइङमा यस्तो माहौल विरलै देखिन्छ। फ्यान छन्।मिडियाको त्यतिकै अटेन्सनछ।टिभी राइट्स् देखि टिभी कभरेजको विषय उठ्छ।जुन टेस्ट राष्ट्रमा हुन्छ।इन फ्याक्ट कतिपय टेस्ट राष्ट्रभन्दा नेपालमा कण्डिसन राम्रो छ।'

​पारस भन्छन् – 'नेपालमा पोटिन्सियल छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell