PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

भूकम्पपीडितको विवरण फरक परे सच्याइने, दुई लाख अनुदान रकमबारे संशोधन



पहिलोपोस्ट

भूकम्पपीडितको विवरण फरक परे सच्याइने, दुई लाख अनुदान रकमबारे संशोधन

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरण गर्दा घरधनीहरुको विवरण फरक परेमा त्यसलाई समाधान गरेर अघि बढ्ने निर्णय गरेको छ।
 
जिल्ला विकास समितिले त्रुटि भएका घरधनीहरुको विवरण तयार गरी सच्याउन सिफारिससहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लेखी पठाउने निर्णय पनि भएको छ।
 
एलएमबीआइएस (Line Ministry Budget Information System) मा समेत विवरण सच्याई एकल खाता कोष प्रणालीमा समेत सो विवरण अद्यावधिक गर्न अर्थ मन्त्रालयमा लेखी पठाउनुका साथै सम्बन्धित बैंकको केन्द्रीय कार्यालयलाई सोही विवरण बमोजिम खाता खोलिदिन लेखी पठाउनुपर्ने व्यवस्था समेत गरिएको प्राधिकरणले जनाएको छ। 
 
लाभग्राही स्वयं उपस्थित नभई आफ्ना प्रतिनिधिलाई मञ्जुरीनामा दिई अनुदान सम्झौता भएको भए सोको विवरण सम्बन्धित गाविस वा नगरपालिकाले जिल्ला विकास समितिलाई पठाउने व्यवस्था मिलाइएको छ। जिविसले त्यस्ता व्यक्तिहरुको नाममा खाता खोलिदिन सम्बन्धित बैंकलाई पत्राचार गर्ने र सम्बन्धि बैंकहरुले पनि सोही अनुसार खाता खोली अनुदान भुक्तानी हुने आधार तयार गरिएको प्रवक्ता रामप्रसाद थपलियाले बताए।
 
जिविसले अनुदान भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेशसाथ अनुदान सम्झौता गरेका लाभग्राहीहरुको विवरणमा मूल लाभग्राहीको नाम समावेश गरिनेछ। कैफियतमा भने अनुदान सम्झौता गर्ने प्रतिनिधिको नाम उल्लेख गरी प्रतिनिधिहरुको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने बैंकहरुले मिलाउने व्यवस्था गरिएको छ।
 
यसैबीच, निजी आवास पुनर्निर्माण कार्यविधिमा भूकम्प पीडितलाई दुई लाख रुपैयाँ अनुदान, सहुलियत कर्जा एवं भूकम्प पीडित विशेष आवास कर्जा उपलब्ध गराउने छैन भन्ने व्यवस्था भएकोमा त्यसलाई संशोधन गर्ने निर्णय गरिएको छ। जसअनुसार कार्यविधिको दफा ५ को उपदफा ९२० मा अन्य स्वदेशी वा विदेशी संघसंस्थाको सहयोगमा निजी आवास भवन नै प्राप्त गरेको लाभग्राही तथा भूकम्प पीडितलाई दुई लाख रुपैयाँ अनुदान, सहुलियत कर्जा एवं भूकम्पपीडित विशेष आवास कर्जा उपलब्ध गराउने छैन भनी संशोधन गर्ने निर्णय भएको छ ।
 
स्वदेशी वा विदेशी संघ संस्थाको सहयोगमा आवास भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीलाई बैंकबाट लिने सहुलियत ऋण लिनलाई समेत बन्देज लगाएको हुँदा नयाँ व्यवस्था गर्ने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता थपलियाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell