PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

प्रचण्ड भन्छन्- 'सरकार गठनका लागि कांग्रेस-एमाले सहमत नभए हामी तयार छौं'



पहिलोपोस्ट

प्रचण्ड भन्छन्- 'सरकार गठनका लागि कांग्रेस-एमाले सहमत नभए हामी तयार छौं'

काभ्रे : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन गर्न नसके देश भयंकर संकटको भुमरीमा फस्ने बताएका छन्।
 
जनयुद्धका सहिद रामेश्वर श्रेष्ठ र जनआन्दोलनका सहिद भीमसेनदास दाहालको स्मृतिमा काभ्रेको नालामा निर्माण भएको सहिदगेट उद्घाटन गर्दै उनले माओवादीलाई प्रधानमन्त्री र राष्ट्रपति नचाहिएको बताए। 'आफूले प्रस्ताव नै राखेको संविधान कार्यान्वयन नहुँदासम्म राष्ट्रिय सहमति कायम गरेर जानलाई सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउने भनिएको थियो,' उनले भने, 'दुर्भाग्य, त्यो हुन सकेन।'
 
१२ बुँदे सम्झौतामा आफू र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको तथा त्यसले राजनीतिक कोर्सलाई नै बदल्ने सम्झौता भएको उनले बताए। संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनर्निमाण, मधेसी, जनजाति, थारु लगायतका जनताले उठाएका मागको सम्बोधनको काम कछुवाको गतिमा भइरहेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे।
 
सम्बोधनकै क्रममा उनले राष्ट्रिय सहमति जसको नेतृत्वमा भए पनि माओवादीलाई मान्य भएको भनाइ राखे। 'केपी या शेरबहादुर तर उहाँहरूकोमा सम्भव नभए माओवादी शान्ति प्रक्रियाको एक पक्ष भएकाले माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ भने हामी तयार छौं,'  उनले अगाडि भने, 'सहमतिको निम्ति जसले त्याग गर्न तयार हुन्छ, नेपाली जनताले उहाँहरुलाई नै सम्मान गर्नेछन्।'
 
अध्यक्ष प्रचण्डले देश निरंकुशताको चपेटामा परेका बेला सबै राजनीतिक दलहरू एकजुट हुँदा ठूलाठूला ऐतिहासिक परिवर्तनहरू भएको बताए। '२००७, २०४६ र २०६२/०६३ सालका ऐतिहासिक राजनीतिक परिवर्तनहरू यसैको परिणाम हो,' उनले भने, 'हामी राजनीतिक दल परिवर्तनका निम्ति आन्दोलनमा एकताबद्ध भएर लड्ने तर आन्दोलनको उपलब्धिहरूको रक्षा र विकासको लागि एकताबद्ध हुन नसक्ने तितो सत्य भोग्दै आएका छौं।'
 
विनाशकारी भूकम्पबाट आइपरेको विपतिको चुनौती सामना गर्न सबै दलहरू एकताबद्ध भएको समेत उनको भनाइ छ। 'हामीले संसदबाट संकल्प प्रस्ताव पारित गर्‍यौं। त्यो बेला म प्रतिपक्ष दलको नेता थिएँ,' उनले स्मरण गरे, 'संकट समाधान गर्न प्रधानमन्त्री सुशील कोइरालालाई अब सत्ता पक्ष र प्रतिपक्ष भन्ने होइन, तपाईं दह्रोसँग अगाडि बढ्नुस्, हामी सबैले मिलेर हातेमालो गर्दै राहत र उद्धारमा जुटौं भनेको थिएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell