
इंगल्याण्डलाई प्रिक्वाटरफाइनलमा पराजित गरेको आइसल्याण्ड आयोजक फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै युरोकप २०१६ बाट बाहिरिएको छ।
तर आइसल्याण्डका कप्तान आरोन गुनरसन भने टोलीको भष्वियप्रति सकरात्मक देखिएका छन्। उनले आफ्नो टोलीले अन्तर्राष्ट्रिय स्टेजमा भर्खर सुरुवात गरेको बताएका छन्।
'साँच्चै हामी निराश छौं तर हामीले अनौठो खालको गर्व महसुस गरिरहेका छौं,' कप्तान गुनरसनले भने। प्रशिक्षक लार्स लगेरब्याकले पनि आइसल्याण्डको भविष्य साँच्चै सकारात्मक रहेको बताएका छन्।
फ्रान्सविरुद्ध क्वाटरफाइनलको पहिलो हाफमै ४–० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफमा प्रदर्शन सुधार गर्दै २ गोल गरेको थियो। क्वाटरफाइनलसम्म पुग्ने क्रममा अपराजित रहेको आइसल्याण्ड फ्रान्ससँग ५–२ ले पराजित हुँदै युरोकपबाट आउट भएको हो।
फ्रान्सविरुद्ध हारको अन्तिम सिटी फुकेसँगै भावुक बनेको गुनरसनले खेलाडी र समर्थकहरु उत्साहमा पुन: एक पटक एकजुट भएको बताए।
'यहाँसम्म आउनका लागि हामीले एकदमै धेरै मेहनत गर्यौं, समर्थकहरु विचित्रका रहे,,' गुनरसनले भने, 'उनीहरु अझै गाइरहेको छन्, यो साँच्चि नै अविश्वसनीय रह्यो।'
'फ्रेन्चहरु सबै मैदान छाडिसकेका थिए, हाम्रा समर्थकहरु अझै यही थिए। यसले पनि देखाउँछ हामीले के गर्यौं,' उनले थपे, 'फ्रान्स विरुद्धको पहिलो हाफ भयानक थियो तर दोस्रो हाफमा हामीले राम्रो खेल्ने प्रयास गर्यौं।'
१० देखि १५ खेलाडीको उमेर खेल्नका लागि अझै उपयुक्त रहेकाले आफूहरु विश्वकपको लागि अगाडि बढिरहेको उनले बताए। 'आशा छ, आइसल्याण्डको भविष्य उज्ज्वल हुनेछ,' आइसल्याण्ड तथा स्वान्सी सिटीका मिडफिल्डर गिल्फी सिगुरसनले भने।
आइसल्याण्ड सन् २०१८ मा रसियामा हुने विश्वकपको लागि छनोट चरणमा क्रोएसिया, युक्रेन, टर्की, फिनल्याण्ड र कोसोभो रहेको समूहमा छ।