PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

२ लाखदेखि १८ लाख धरौटी राखेर छुटे ठगी मुद्दामा परेका डाक्टर, धरौटी राख्न नसक्ने दुई जना थुनामै



राधेश्याम पटेल

२ लाखदेखि १८ लाख धरौटी राखेर छुटे ठगी मुद्दामा परेका डाक्टर, धरौटी राख्न नसक्ने दुई जना थुनामै


वीरगञ्ज : वीरगञ्जबाट पक्राउ परेका नौ चिकित्सक मध्ये छ जना धरौटी बुझाएर आज रिहा भएका छन्। दुई जना धरौटी दाखिल गर्न नसक्दा थुनामै गएका छन्।

नक्कली प्रमाणपत्र पेश गरी डाक्टरी गरिरहेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले असार ३ गते नौ जना चिकित्सकहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामार्फत् शुक्रबार पर्सा जिल्ला अदालतमा ८ जना विरुद्ध ठगी मुद्दा चलाएको थियो। एक जनालाई काठमाडौंबाट मुद्दा चलाउने भनिएको छ।
 
सोमबार जिल्ला अदालतले मागेको धरौटी दाखिल गरी ६ जना थुनामुक्त भएका छन्। कानून व्यवसायीहरुको बहस पैरवी सोमबार टुंगिएपछि जिल्ला न्यायाधीश महम्मद जुनैद आजादको इजलासले गरेको फैसलाको अधारमा उनीहरु छुटेका हुन्।

मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १ सय १८ को देहाय ५ र १० बमोजिम आदेश गर्दै नगद धरौटी, बैंक ग्यारेन्टी वा सो बराबरको जेथाजमानी धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला न्यायाधीश अजादले आदेश दिएपछि उनीहरुले धरौटी बुझाएर रिहा हुने बाटो खुलेको हो।

रिहा हुने चिकित्सकहरुमा सरोजकुमार सिंह १० लाख, रामकुमार प्रधान ७ लाख ७५ हजार, दिनेशकुमार साह तेली १८ लाख, कुशराज गिरी ४ लाख, इर्सादुल हक ३ लाख ७५ हजार र निमेशपाल रमन २ लाख रुपैयाँ नगद धरौटी दाखिल गरी थुनामुक्त भएका हुन्। मोहम्मद रहुल्लाहसँग ३५ लाख र पन्नालाल पटेलसँग १५ लाख रुपैया धरौटी माग गरिएकोमा उनीहरुले धरौटी दाखिल गर्न नसकेपछि रिहा हुन नसकेका हुन्।
    
ब्युरोले नै बिहीबार राति उनीहरुलाई राजधानीबाट ल्याई जिल्ला प्रहरीको जिम्मा लगाएपछि उनीहरुको मुद्दा जिल्ला अदालतमा चलेको थियो।
  
आइतबार पहिलो दिन सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता भुवनेश्वर पौडेल र आरोपित चिकित्सकहरुको तर्फबाट अधिवक्ताहरु पन्नालाल गुप्ता, विनय सिंह,  सुधिर कर्णले बहस पैरवी गरेका थिए। आरोपित पक्षकै तर्फबाट सोमबार अधिवक्ताहरु रामनारायण कुर्मी, महम्मद नौसाल, हरिकृष्ण अधिकारी लगायतकाले पनि बहस गरेका थिए।
  
   आइतबारनै अभियुक्तहरुको बयान सकिएपछि थुनछेक प्रयोजनको बहस सुरु भएको थियो। जिल्ला न्यायाधिवक्ता पौडेलले आरोपित चिकित्सकहरुलाई मुलुकी ऐनको ठगीको महलको १ र २ नम्बरको कसुरमा ४ नम्बर अनुसारको सजाय दाबी माग गरेका छन् भनी पर्सा जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell