
- सिटी पोख्रेल
उत्तरी प्युठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। स्थानीय ४५ वर्षका दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले बताए।

मृतक अन्यमा मल्लकी ४० वर्षीया श्रीमती सीता, १० वर्षीया छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जना रहेका छन्।
थप उद्धारका लागि प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली घटनास्थल जाने क्रममा छ। रजवारा गाविसमा यातायातको सुविधा नभएकाले अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ।
गएराति नै घर भत्किँदा उत्तरी प्युठानकै पुजा–३ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा होम बहादुर सुनार, उनकी श्रीमती र नातिनी छन्।
प्यूठानकै बरौलास्थित झिमरुक नदीको बीचमा गएरातिदेखि सात जना कामदार फसेका छन्। हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात मजदुर नदीको बीचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिए।
(फोटो : पर्वत सेन, रजवारा/ प्युठान समाचार डटकमको पेज)