PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

मेसीप्रति रोनाल्डोको सहानुभूति- 'उनी रोएको देख्दा दु:ख लाग्छ'



पहिलोपोस्ट

मेसीप्रति रोनाल्डोको सहानुभूति- 'उनी रोएको देख्दा दु:ख लाग्छ'

अर्जेन्टाइन स्टार मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि अहिले विश्वभर त्यसैको चर्चा छ। यतिसम्म कि फ्रान्समा भएको युरोकपलाई समेत केही हदसम्म छायाँमा पार्‍यो यसले।
 
सन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाका राष्ट्रपतिदेखि, लेजेण्ड खेलाडी म्याराडोना, अन्य खेलाडी, समर्थकहरु सबैले मेसीलाई आग्रह गरेका छन्। यसको सूचीमा अर्को एक स्टार खेलाडी समेत थपिएका छन्।
 
ती स्टार खेलाडी हुन्, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, जो मेसीको चिरपरिचित प्रतिद्वन्दी पनि हुन्। उनैले मेसीको सन्यासबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन्।
 
युरोकप २०१६ मा वेल्ससँगको सेमिफाइनल खेल्नुअघि रोनाल्डोले मेसीको समर्थनमा यसरी अभिव्यक्ति दिएका हुन्। समर्थकहरुले पत्याउनै नसकिने गरी रोनाल्डोले  मेसीको समर्थनमा शब्द खर्चिएका छन्। मेसीले आफ्नो निर्णयबारे पुर्नविचार गर्ने आशा पनि रोनाल्डोले व्यक्त गरेका छन्।
 
'मेसीले कठिन निर्णय लिएका छन्। मानिसहरुले यो बुझ्नु जरुरी छ कि मेसीलाई हार्ने र निराश हुने बानी छैन, यतिसम्म कि दोस्रो हुने पनि,' रोनाल्डोले मुण्डो डेपोर्टीभोसँग भनेका छन्, 'पेनाल्टी मिस गर्दैमा खराब खेलाडी भइँदैन।'
 
'मेसीलाई रोएको अवस्थामा देख्दा दु:ख लाग्छ,' रोनाल्डोले सहानभूति दिँदै भनेका छन्, 'मलाई आशा छ, उनी अर्जेन्टिनी राष्ट्रिय टीममा फर्कनेछन्, मेसीलाई यो आवश्यक छ।'
 
अमेरिकामा भएको कोपा सेन्टेनारियो फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले अबदेखि अर्जेन्टिनाको लागि फुटबल नखेल्ने निर्णय गर्दै सन्यासको घोषणा गरेका थिए। उक्त फाइनलमा मेसीले पेनाल्टी मिस गरेका थिए।
 
लगातार तेस्रो पटक फाइनल खेल्दा पनि उपाधि जित्न नसकेपछि मेसीले आफ्नो आँसु रोक्न सकेका थिएनन्। मेसीले जस्तै रोनाल्डोले पनि अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न सकेका छैनन्। सन् २००४ को युरोकप फाइनलमा पुगे पनि रोनाल्डोको पोर्चुगल ग्रिससँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell