PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आपूर्ति मन्त्रालयको अनुगमन टोलीमाथि व्यापारीको अवरोध, बल्खु तरकारी बजारका ढकतराजु जफत



पहिलोपोस्ट

आपूर्ति मन्त्रालयको अनुगमन टोलीमाथि व्यापारीको अवरोध, बल्खु तरकारी बजारका ढकतराजु जफत

               
काठमाडौं : बजार अनुगमनका लागि गएको आपूर्ति मन्त्रालयको टोलीले बल्खु तरकारी बजारबाट अप्रमाणित ढकतराजु जफत गरेको छ।
 
तरकारी बजारका व्यापारीले प्रयोग गर्ने अधिकांश ढक तराजु मापदण्डअनुसार नपाइएको र उपभोक्तालाई ठगेको गुनासो आएपछि मन्त्रालयको आपूर्ति विभागको टोली आज विशेष अनुगमनमा गएको थियो।
 
मंगलबार दिउँसो बल्खु पुगेको टोलीमाथि व्यापारीले अभद्र व्यवहार देखाउँदै आक्रमणमा उत्रिएपछि त्यहाँ केही बेर तनावको अवस्था उत्पन्न भएको थियो।  गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेअनुसार ढकतराजु प्रयोग नगरेको टोलीले फेला पारेको थियो। अप्रमाणित ढकतराजु उठाउन थालेपछि व्यापारीहरु टोलीमाथि जाइलागेका थिए। 

'उहाँहरुले दु:ख दिन आएको भन्ठानी अभद्र व्यवहार देखाउनुभएछ,'  विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, 'अहिले बजारका सबै ढकतराजु नियन्त्रणमा लिएका छौं। तीन दिनपछि प्रमाणित गरि फिर्ता दिने गरी सहमति भएको छ।'

टोलीले नियन्त्रणमा लिएको ढकतराजु गुणस्तर तथा नापतौल विभाग बालाजुमा लगेर प्रमाणित गरिनेछ। विवादपछि व्यापारीले गल्तीप्रति माफीसमेत मागेका छन्।
 
आपूर्ति मन्त्री गणेशमान पुनसमेत आज उक्त टोलीमा थिए। तर उनी कालिमाटीको अनुगमनपछि नै फर्किएका थिए।
 
तरकारीमा विषादी मिसाइएको, अप्रमाणित ढकतराजु प्रयोग गरिएको जस्ता गुनासा आएपछि विभागले आज विशेषगरी तरकारी र फलफूल पसलमा अनुगमन गरेको विभागका निर्देशक श्रेष्ठको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell