काठमाडौँ : मंगलबारको संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सरकारको जवाफ माग्न नौलो शैली अपनाए।
संसदमा सांसदहरुले समसामयिक विषयमा बोल्न र सरकारको ध्यानाकर्षण गराउन शून्य समय र विशेष समय जस्ता समय निर्धारण गरिएको हुन्छ। खतिवडाले मंगलबार शून्य समयमा बोल्ने मौका पाएका थिए। सभामुख ओनसरी घर्तीले खतिवडालाई नाम बोलाइन्।
सांसद खतिवडा आफ्नो स्थानबाट माइक समाउँदै उठे। तर बोलेनन्।
उनी माइक समाएर उभिरहेको देखेपछि सांसदहरु हाँस्न थाले। कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठ खतिवडाको पछाडि थिए। खतिवडा नबोलेको देखेर श्रेष्ठ पनि केहीबेर चकित भए। सभामुख घर्ती पनि हेरेको हेर्यै भइन्।
सबैको ध्यान आकृष्ट भएपछि खतिवडा बोले। उनले भने - संसदको शून्य समय र विशेष समयमा बोलेको कुराको सरकारले कहिल्यै जवाफ नदिने भएकाले म एक मिनेट उभिएर केही नभनी सरकरालाई जवाफ दिन पहलका लागि उभिन्छु मात्र। केही भन्दिन।
हेर्नुस् भिडियो-
खतिवडा उभिरहेपछि कांग्रेसका सांसदहरुले टेबल ठोकेर समर्थन जनाए। केहीबेर माइक समाएर उभिएका खतिवडालाई सभामुखले बस्न भने। बस्न निर्देशनपछि भने उनी बसे। खतिवडाले शून्य समयमा पाउने एक मिनेट पूरा समय भने प्रयोग गरेनन्। उनको सबै काम ३५ सेकेण्डमै सकियो।