
काठमाडौं : मदन पुरस्कार गुठीको २०७२ चैत १८ गते सम्पन्न ६६औं साधारणसभाले पुरस्कारसम्बन्धी नयाँ निर्णय गर्यो। मदन पुरस्कारको लागि पुस्तक छनोट गर्नुअघि गुठीकै भाषामा '१० वटा श्रेष्ठ पुस्तक' छानिने सो निर्णयमा उल्लेख छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकमध्ये एकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्ने गुठीले नयाँ नियम बनायो।
विवादबाट अलग रहन नसकेको गुठीको यस्तो निर्णयलाई त्यस बेला साहित्यकार र सरोकारवालाले सकारात्मक रुपमा लिए। यसको प्रत्यक्ष फाइदा भने प्रकाशकका लागि थियो। कतिपय प्रकाशकहरु आफ्नो प्रकाशनको पुस्तक 'उत्कृष्ट १०' मा परे मदन पुरस्कार गुठीको ट्याग हालेर बिक्री गर्ने सुरमा पनि थिए।
तर, गुठीले मंगलबार सार्वजनिक गरेको पुस्तकको सूचीमा भने सात वटाको नाम मात्र छ। '२०७२ सालदेखि मदन पुरस्कारका लागि प्राप्त पुस्तकहरु मध्येबाट प्रारम्भिक छनोट गरी 'श्रेष्ठ सूची' तयार गरी सार्वजनिक गर्ने नीति-नियम गुठीले बनाएकाले' भन्दै सात पुस्तकको नाम बाहिर आयो।
यो निर्णय गुठी आफैंले गरेको निर्णयसँग बाझिएको छ। किनकि चैत १८ गतेको निर्णयमा भने '१० वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गर्ने' उल्लेख नै छ।
यही अन्योलपछि गुठीका सदस्य सचिव कुन्द दीक्षितलाई सम्पर्क गर्दा उनले १० वटा सम्म मात्र भनिएको दाबी गरे। 'हामी १० वटै नभई १० वटासम्मलाई सिफारिस गर्ने भनेका हौं,' उनले 'सम्म' शब्दलाई जोड दिँदै भने, 'पाँच वटा वा त्योभन्दा कमको नाम पनि निकाल्न सकिन्थ्यो।'
तर, गुठीले चैत १८ गते जारी गरेको प्रेस विज्ञप्तिमा '१० वटासम्म पुस्तकलाई' भन्ने शब्द कतै उल्लेख छैन। बरु किटानका साथ १० वटा नै भनिएको छ।
हेर्नुस् विज्ञप्ति-
सात वटा पुस्तकको सूची निकाल्नका लागि मूल्यांकनमा सात जनाकै कमिटी बनेको थियो। कमिटीका सदस्यहरुको नाम गोप्य रहने भएकाले उनीहरुको नाम भन्न नमिलने दीक्षितले बताए।
चैत मसान्तसम्म प्रकाशन भएका पुस्तकहरुलाई मात्र सो वर्षको मदन पुरस्कारका लागि सिफारिस गर्ने गरिएको छ। २०७२ का लागि यसपटक एक सय भन्दा माथिको संख्यामा पुस्तकहरु दर्ता भएको गुठीकै अर्का सदस्य दीपक अर्यालले जानकारी दिए।
गुठीले आज प्रारम्भिक छनोटमार्फत श्रेष्ठ सूचीमा सात पुस्तकको नाम निकालेको छ। यिनै पुस्तकमध्येबाट सर्वश्रेष्ठ एकलाई २०७२ को मदन पुरस्कार प्रदान गरिनेछ।
छनोटमा परेका उत्कृष्ट सात वटामा सांग्रिला बुक्सका दुई पुस्तक परेका छन्। सबभन्दा बढी चार वटा उपन्यास छन्।
श्रेष्ठ सूचीमा परेका पुस्तकहरु-
१. आमोई (उपन्यास) : भुवनहरी सिग्देल (प्रकाशक : शब्दार्थ प्रकाशन)
२. ऐना (कथा) : रामलाल जोशी (प्रकाशक : ब्रोदर बुक प्रकाशन)
३. चीरहरण (उपन्यास) : नीलम कार्की निहारिका (प्रकाशक : सांग्रिला बुक्स)
४. निर्वाण (उपन्यास) : घनश्याम खड्का (प्रकाशक : अल्केमी प्रकाशन)
५. प्रश्नहरूको कारखाना (कविता) : सरिता तिवारी (प्रकाशक : सांग्रिला बुक्स)
६. फिरफिरे (उपन्यास) : बुद्धिसागर (प्रकाशक : फाइनप्रिन्ट)
७. सिमानाका रङ्ग सिमानाका तरङ्ग (नियात्रा) : दामोदर पुडासैनी ‘किशोर’ (प्रकाशक : रत्न पुस्तक)