
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टीमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।
खेल आगामी जुलाई १५ र १७ मा बंगलादेशमा हुन लागेको हो। यद्यपि खेल्ने स्थानको टुंगो भने लागिसकेको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली राष्ट्रिय टीमले बंगलादेशसँग दुई फिफा 'ए' मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशमै हुने भनिए पनि खेल हुने स्थान घोषणा गर्न बाँकी नै रहेको एन्फाले जनाएको छ।
आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कप खेल्ने तयारी गरिरहेको नेपाली टीम हरेक दिन प्रशिक्षणमा व्यस्त छ। नेपालले यसअघि दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। मलेसियाको यु २२ र लाओससँग खेलेको दुवै खेलमा नेपाल एक/एक गोलको बराबरीमा रोकिएको थियो।
एन्फाले नेपाली टीमलाई सकेसम्म धेरै मैत्रीपूर्ण खेल खेलाउने प्रतिबद्धता जनाएको छ।