PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​भोटेकोसीमा दशकयताकै ठूलो बाढी



रासस

​भोटेकोसीमा दशकयताकै ठूलो बाढी

मेलम्ची : सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ।
 
जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ।
 
जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीका अनुसार मङ्गलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोसी नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र बाढीले हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण नआएको जानकारी दिए।
 
वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत जम्बु भन्ने स्थानमा बाढीले सडक कटान गरेको र जुरेमा माथिबाट खसेको लेदोका कारण बन्देउ–तातोपानी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले बताए।
 
पाण्डेका अनुसार तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौरका स्थानीयवासीलाई मङ्लबार रातिदेखि माइकिङ गर्दै सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो। वर्षा र बाढीका कारण सञ्चार सम्पर्कमा समेत कठिनाइ भएको पाण्डेले बताए। रासस
फाइल फोटो : जुरेको पहिरोले भोटेकोसी थुनिँदा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell