PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नाम फेरेर नक्कली अस्पताल सञ्चालनमा, पहिलोपोस्टको समाचारपछि वेलहोप बन्यो न्यु सेन्चुरी



सविन ढकाल

नाम फेरेर नक्कली अस्पताल सञ्चालनमा, पहिलोपोस्टको समाचारपछि वेलहोप बन्यो न्यु सेन्चुरी


काठमाडौँ : कानुन अनुसार दर्ता नै नगरी एक महिनाभन्दा बढी समयदेखि संचालित पानीपोखरीस्थित वेल होप हस्पिटलले सेवाग्राही झुक्याउन अर्को प्रपञ्च रचेको छ। 

दर्ता नै नगरी वेल होप हस्पिटल सञ्चालनमा रहेको समाचार पहिलोपोस्टले प्रकाशित गरेपछि मंगलबार सो हस्पिटलले साइनबोर्ड फेरेर न्यु सेन्चुरी हस्पिटल नाम राखेको छ। हस्पिटलले राष्ट्रिय दैनिकमा पनि नयाँ नाममा विज्ञापन प्रकाशन गर्न थालेको छ। 

एक महिना अगाडि खोलिएको यो अस्पतालको  सम्पूर्ण लगानी चिनियाँ नागरिकको रहेको छ। याङ योङग हस्पिटलका प्रमुख लगानीकर्ता हुन्। दोभाषेको सहयोगमा लगानीकर्ता याङले पहिलोपोस्टलाई अस्पताल दर्ताको प्रकृयामा रहेको बताए। 

उनी भन्छन्, 'मन्त्रालयमा दर्ता गर्न खोजिरहेका छौँ, १५ बेडको हस्पिटल दर्ता गर्ने योजना छ।' 

याङले मन्त्रालयमा दर्ता प्रकृया अगाडि बढाएका छौँ भने पनि १५ सिटसम्मको अस्पताल मन्त्रालयमा होइन जनस्वास्थ्य विभागमा दर्ता गरी अनुमति लिनु पर्ने हुन्छ।

स्वास्थ्य क्लिनिक, डाइग्नोष्टिक सेन्टर, पोली क्लिनिक तथा २५ बेडसम्मका अस्पतालका लागि सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० मा रहेको छ। 

दर्ता नै नगरी विज्ञापनसमेत गरी सेवा सञ्चालन गर्नु गैरकानुनी हो। 



अस्पतालले नामसँगै लोगो पनि परिर्वतन गरेको छ। सेवाग्राहीलाई बिल समेत नदिएर अस्पतालले करसमेत छलि गरिरहेको छ। बिना अप्रेसन पाइल्सको उपचार गरिने भनिएको अस्पतालको प्रमुख चिकित्सक पनि चिनियाँ नागरिक डाक्टर फेङग यु रहेको अस्पतालले जानकारी गराएको छ। 

अस्पतालले सुरुमा कम शुल्कमा उपचार गर्ने भनेर भन्ने तर पछि विभिन्न बहानामा बढी रकम समेत लिने गरेको अस्पतालमा उपचार गराएका एक बिरामीले नाम नखोल्ने सर्तमा जानकारी गराए।

आफूलाई वेलहोप अस्पतालको मेनेजर बताउने सुभाष श्रेष्ठले अस्पताल खोलेको १ महिना मात्र भएकाले दर्ता भइनसकेको बताएका थिए। उनले पहिलोपोस्टलाई भनेका थिए, 'अहिले हामीले दर्ता गरिसकेका छैनौँ। विस्तारै दर्ता गर्छौँ।' 

तर दर्ता होइन, अस्पतालको नामै परिवर्तन गरिएको छ। नयाँ अस्पतालको व्यवस्थापनले नाम जुधेकोले फेर्नुपरेको तर्क गरेको छ। 







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell