PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

भोटेकोसीमा उर्लंदो बाढी : १५ घर बगायो, नदी किनारका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध



पहिलोपोस्ट

भोटेकोसीमा उर्लंदो बाढी : १५ घर बगायो, नदी किनारका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध

काठमाडौं : लगातारको वर्षा र बाढीका कारण सिन्धुपाल्चोकमा ठूलो क्षति पुगेको छ। वर्षाका कारण सिन्धुपाल्चोक सिमाना रहेको तिब्बत क्षेत्रबाट आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौर लगायतका क्षेत्र बढी प्रभावित छन्।
 
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाएको छ। राति करिब १० बजेदेखि भोटेकोसी नदीको बहाव एक्कासि बढेपछि स्थानीय त्रसित बनेका थिए। नदीमा पानीको सहत बढेपछि नेपाल-चीन मितेरी पुलदेखि तातोपानी हुँदै बाह्रबिसेसम्म विभिन्न खण्डमा अरनिको राजमार्गमा क्षति पुगेको छ।

प्रशासन कार्यालयका अनुसार तातोपानी लिपिङका करिब १५ घर बाढीले बगाएको हो। भन्सारमा रहेको दुई वटा टिपर, क्यान्टिन, बाह्रबिसेस्थित कुखुरा फर्म, मोटर ग्यारेजबाट टाटा सुमो र जिप पनि बाढीले बगाएको छ। प्लाउड फर्म, ब्लक उद्योग तथा जाली बुन्ने उद्योग पनि डुबानमा परेका छन्। बाढीले मार्मिङ र लिपिङ जोड्ने मध्य भोटकोसी आयोजनाको बेलिब्रिज पनि बगाएको बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए।
 
बाढीका कारण तातोपानी गाविसको दसकिलोका केही घरहरु जोखिममा रहेका छन्। जुरे पहिरोले बाटो कटान गर्नुका साथै लेदो बग्दा सडक अवरुद्ध भएको छ।
 
अहिले बिहान भोटेकोसी नदीको पानीको सतह सामान्यभन्दा १ दशमलव ५ मिटर बढेकोले जोखिम रहेको प्रशासनले जनाएको छ।
 
हालसम्म मानवीय क्षतिको भने जानकारी नआएको प्रशासनको भनाइ छ।
 
नदीको बहाव बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारका स्थानीयवासीलाई सतर्क गराइएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell