PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रिभ्यु : पोर्चुगलविरुद्ध इतिहास रच्ने दाउमा वेल्स



पहिलोपोस्ट

प्रिभ्यु : पोर्चुगलविरुद्ध इतिहास रच्ने दाउमा वेल्स

युरोकप २०१६ का सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्सबीच प्रतिस्पर्धा हुँदैछ। लियोन स्थित स्टेड डे लियाने स्टेडियममा १२:४५ बजे खेल सुरु हुनेछ।
 
सेमिफाइनलसम्म आइपुग्दा यी दुई टोलीको कथा पूरै फरक छ। वेल्स समूह बीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने पोर्चुगल समूह चरणमा तीनै खेल बराबरी गर्नै एक्लो टीम हो।
 
वेल्सले क्वाटरफाइनलमा बलियो मानिएको बेल्जियमलाई ३–१ ले हरायो, जुन सबैभन्दा राम्रो प्रदर्शन रह्यो। यस्तै पोर्चुगलले पेनाल्टीमा पोल्याण्डलाई ५–३ ले पराजित गरेको हो।
 
निर्धारित समयमा कुनै खेल जित्न नसकेको पोर्चुगल अपराजित छ तर प्रिक्वाटरफाइनलमा पनि पोर्चुगलले क्रोएसियालाई अतिरिक्त समयमै हराएको हो।
 
यता वेल्सले भने समूह चरणमा इंगल्याण्डसँग हार बेहोरेको थियो। तर स्लोभाकिया र रसिया जस्ता टीमलाई पराजित गरेको वेल्सले प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको थियो।
 
वेल्स पहिलो सहभागितौ सेमिफाइनल पुगेको छ भने पोर्चुगल सातौं सहभागितामा पाँचौ पटक सेमिफाइनल पुगेको हो। यसअघि चार पटक सेमिफाइनल खेल्दा पोर्चुगल एकपटक मात्र फाइनल पुगेको थियो त्यो पनि ग्रिससँग पराजित हुँदै उपविजेता बन्यो।
 
पहिलो सहभागितामै युरोकपको सेमिफाइनसम्म पुगेको वेल्स पोर्चुगलविरुद्ध ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा छ।
 

बेल भर्सेस रोनाल्डो

क्लब लेभलमा एकै क्लबबाट खेल्ने गारेथ बेल र रोनाल्डो युरोकपमा पहिलो पटक आमनेसामने हुँदैछन्। बेल्स र पोर्चुगलको खेललाई बेल भर्सेस रोनाल्डोको रुपमा पनि हेरिएको छ । तर बेलले यो बेल भर्सेस रोनाल्डो सिंगलभन्दा पनि टीम गेम भएको बताएका छन्। धेरै हदसम्म पोर्चुगल रोनाल्डोमा निर्भर रहेको छ भने वेल्स बेलभन्दा पनि टीम गेम खेल्ने टोलीको रुपमा अगाडि आएको छ।
 
क्वाटरफाइनलमा वेल्सले जसरी बेल्जियमलाई हरायो उनीहरु उत्कृष्ट त्यसले पनि वेल्सको क्षमता प्रमाणित गरिसकेको छ।
 
बेल र रोनाल्डोडो क्लब लेभलमा स्पानिस रियल मड्रिडबाट खेल्छन्। त्यतिखेर गोल गर्नका लागि एकअर्कालाई सहयोग गर्ने यी दुई खेलाडी अब भने एकअर्का विरुद्ध कसरी गोल गर्ने भन्ने रणतीतिमा हुनेछन्। वेल र रोनाल्डोको लागि अहिले ठाउँ फरक, टीम फरक, अर्थ फरक बनेको छ। यस्तोमा जो चल्छ उसैले जित्ने निश्चित छ।
 
क्लब फुटबलमा सबैखाले उपलब्धि आत्मसात गरिसकेको रोनाल्डो जारी युरो खेल्ने ठुला स्टार हुन् तर उनले सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेका छैनन्। समूह चरणमा हंगेरीविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्य खेलमा भने गोल गर्न सकेका छैनन्। यता समूह चरणको तीन वटै खेलमा गोल गरेको बेलले वेल्सका लागि शानदार प्रदर्शन गर्दै आइरहेका छन्। विशेषगरी फ्रिकिक र डेड बलहरुमा बेलको प्रदर्शन उत्कृष्ट छ।
 
वेल्स टीम गेमका कारण चर्चित छ भने पोर्चुगल वान म्यानमा निर्भर रहेको छ। रोनाल्डोको प्रदर्शन नै वेल्सविरुद्ध निर्णायक हुन सक्ने फुटबल पण्डितहरुको दाबी छ।
 
नयाँ स्टारका रुपमा देखिएका रेनाटो सान्चेज पनि रोनाल्डोसँगै पोर्चुगलको मुख्य हतियारका रुपमा रहेका छन्। यस्तै नानीको प्रदर्शन पनि राम्रो छ।
 
सब्सिच्युटको भूमिकामा मैदान छिर्ने रिकार्डो क्वारेस्माको भूमिका प्रभावकारी देखिँदै आएको छ।

 
राम्से आउट, घाटा र नाफा दुवै

सेमिफाइनल खेल्नुअघि वेल्सलाई सबैभन्दा चिन्ता राम्सेको अनुपस्थित नै हुनेछ। यसअघिका खेलमा अग्रपंक्तिमा बेललाई साथ दिँदै आएका राम्सेल निलम्बनका कारण सेमिफाइनल खेल्नेछैनन्। जसले गर्दा वेल्सलाई स्वाभाविक रुपमा घाटा लाग्नेछ। तर उनको अनुपस्थिति नै वेल्सको लागि फाइदा पनि हुन सक्नेछ।
 
राम्सेको स्थानमा खेल्ने नयाँ खेलाडीलाई खेलाउँदा झन् प्रदर्शन सुधारिन सक्नेछ भने विपक्षीले पनि उसलाई खासै नोटिस गर्नेछैन। यसको फाइदा वेल्सले लिन सक्नेछ। राम्सेको स्थानमा जोनी विलियम्स वा एण्डी किङले खेल्ने सम्भावना रहेको छ। यता डेभिसको स्थानमा जेम्स कोलिन्स वा ज्याज रिचर्डसले खेल्न सक्छन्।
 
यस्तै पोर्चुगलका विलियम कार्भाल्हो पनि निलम्बनका कारण वेल्सविरुद्ध खेल्नेछैनन् भने डिफेन्डर पेपेले खेल्ने सम्भावना कम छ। कार्भाल्होको स्थानमा डानिलोले खेल्ने सम्भावना बढी छ। यस्तै चोटका कारण कवाटरफाइनल गुमाएका राफेल गुएरेइरो र मिडफिल्डर आन्द्रे गोमेज पनि फिट भएका छन्।
 

इतिहास पोर्चुगलको पक्षमा

सन् १९८४ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको पोर्चुगल दोस्रो पटक फाइनलमा पुग्ने दाउमा छ। २००४ मा घरेलु भूमिमै भएको युरोकपमा पोर्चुगल उपविजेता बनेको थियो। पोर्चुगलले यसअघि पनि चार पटक सेमिफाइनल खेलिसकेको छ।
 
वेल्स भने पहिलो सहभागितामै फाइनल पुग्दै कीर्तिमान बनाउने योजनामा छ।
 
पोर्चुगल र वेल्स मुख्य प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो। यसअघि भएका तीन खेलमा पोर्चुगलले दुई खेल जितेको छ भने वेल्स एक खेलमा विजयी भएको छ।
 
वेल्स सन् १९९२ पछि डेब्युमै सेमिफाइनल पुग्ने पहिलो टीम हो। यदि फाइनल पुगे सन् १९७२ मा जर्मनीपछि पहिलो टोली बन्नेछ।
 
अहिलेसम्म सोभियत रुस, स्पेन, इटली र जर्मनीले पहिलो सहभागितामै उपाधि जितेका छन्। पोर्चुगल र वेल्स जो फाइनल पुगेपनि अहिलेसम्म युरोकप नतिजेको टोली फाइनल पुग्नेछ र उपाधि नै जिते युरोकपले नयाँ विजेता पाउनेछ।
 
यदि अर्को सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई हराए जित्ने टीम आगामी वर्ष रसियामा हुने कन्फेडेरेसन कपमा छनोट हुनेछ।
 
वेल्सले पोर्चुगलको विजेताले फाइनलमा जर्मनी र फ्रान्सको विजेतासँग उपाधिका लागि भिड्नेछ।
खेल हुने समय : मध्यरात १२:४५ बजे
खेल हुने स्थान : स्टेड डे लियोन, लियोन
हेर्नलायक खेलाडी : क्रिस्टियानो रोनाल्डो-पोर्चुगल, गारेथ बेल-वेल्स
हेड टु हेड : पोर्चुगल २, वेल्स १
युरो सहभागिता : पोर्चुगल ७, वेल्स १
फिफा वरियता : पोर्चुगल ८, वेल्स २५
मुख्य उपलब्धि : पोर्चुगल उपविजेता सन् २००४
 
सेमिफाइनल खेलाउने रेफ्री
रेफ्री : जोनास एरिकसन, स्वीडेन
असिस्टेन्ट रेफ्री : माथिएस क्लासेनिएस, डानिएल वार्नमार्क, स्वीडेन
एडिसनल असिस्टेन्ट रेफ्री : स्टेफाना जोहानसन, मार्कुस स्टोकवर्गसन, स्वीडेन
फोर्थ अफिसिएल : साइमोन मार्सिनिक, पोल्याण्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell