PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

गिरानचौर बस्तीका लागि ४ करोड रकम प्राप्त, थप सहयोग जुटाउन धुर्मुस-सुन्तली कतार जाँदै



पहिलोपोस्ट

गिरानचौर बस्तीका लागि ४ करोड रकम प्राप्त, थप सहयोग जुटाउन धुर्मुस-सुन्तली कतार जाँदै

काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा लागेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) थप सहयोग जुटाउन कतार जाँदै छन्।

इदको दोस्रो दिन उनीहरु अन्य कलाकारको साथमा कतार जान लागेका हुन्। त्यहाँ उनीहरुले सुन्तली-धुर्मुस साँझअन्तर्गत कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

आयोजक सास क्रियशनका अनुसार धुर्मुस-सुन्तलीसँगै कतार जानेहरुमा अभिनेत्री रेखा थापा, हास्यकलाकार राजा राजेन्द्र पोख्रेल, लोकदोहोरी गायक राजु गुरुङ, गायिका मुना थापामगर लगायत रहेका छन्।
सनैया औद्यौगिक क्षेत्रको ३७ नम्बर एसियन टाउनस्थित ग्राण्डमलमा उनीहरुको कार्यक्रम तय गरिएको छ। कार्यक्रमबाट उठेको रकम खर्च कटाएर धुर्मुस-सुन्तली फाउण्डेशनलाई प्रदान गरिने आयोजक कल्याण घिमिरेले बताएका छन्।
 

दसैंसम्म बस्ती हस्तान्तरण

वैशाख २९ बाट निर्माण कार्य थालिएको गिरानचौरमा ६५ घरकै जग खनिसकिएको छ। तीन वटा ब्लकमा एकै हिसाबले काम गराउनका लागि आवश्यक मात्रामा डकर्मी, सिकर्मीको व्यवस्था पनि गरिसकिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ।

बस्तीमा सहज रुपमा निर्माण सामग्री ढुवानी गर्न सडक ग्राभेल गर्ने काम अन्तिम चरणमा छ। यद्यपि, सिमेन्ट, रडलगायतका निर्माण सामग्री केही मात्रामा बस्तीमा पुगिसकेको छ भने कतिपय ढुवानीकै क्रममा रहेका छन्। सडक र पानी अभावका कारण काममा केही ढिलाइ भए पनि दसैंअघि नै काम सम्पन्न गर्ने कलाकार धुर्मुसले बताए।
 

४ करोड सहयोग संकलन

करिब ५ करोड अनुमानि लागत रहेको गिरानचौर एकीकृत बस्ती निर्माण परियोजनाका लागि अहिलेसम्म करिब चार करोड रुपैयाँ सहयोग संकलन भएको छ।

कतिपय ठाउँमा बस्ती निर्माणका लागि सहयोग संकलन भइरहेकाले छिट्टै नै उक्त लक्ष्य पूरा हुने फाउन्डेशनको अपेक्षा छ। लक्ष्य पूरा हुनेबित्तिकै परियोजनाका लागि सहयोग संकलन कार्य बन्द गरिने कलाकार सुन्तलीले बताइन्।

'लक्ष्य पूरा हुनेबित्तिकै सहयोग संकलन कार्य बन्द गरी खर्चको विवरण सार्वजनिक गर्नेछौं,'  फाउन्डेशनकी कोषाध्यक्षसमेत रहेकी उनले बताइन्।

एक लाख ७४ हजार खातामा रहेको समयमा बस्ती निर्माण घोषणा गरिए पनि अहिले चार करोड रुपैयाँ जम्मा भइसकेकाले सबै सहयोगी मनहरुलाई उनीहरुले धन्यवाद समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell