काठमाडौं : इस्लाम धर्मावलम्वीहरुको पर्व इद (इदुल्ल फित्र)का अवसरमा भोलि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ।
हिजो चन्द्रमा देखिएको भए आज बुधबारका लागि विदा हुनुपर्ने थियो। तर चन्द्रमा नदेखिएकाले पर्व विदाका रुपमा भोलि बिहीबारका लागि तोकिएको हो।
पाकिस्तानमा आजै विदा दिइएको छ भने भारतको नयाँ दिल्लीमा घोषणा गरिसकेको विदा चन्द्रमा नदेखिएका कारण फिर्ता लिइएको छ। त्यहाँ पनि भोलि नै विदा हुनेछ।
विदाको दिन यकिन हुन नसक्दा हिजो दिनभर यो विषयमा अन्यौलता श्रृजना भएको थियो। त्यसैले गृह मन्त्रालयले हिजो विज्ञप्ति नै जारी गरेर बुधबार सार्वजनिक विदा नरहेको जनाएको थियो। यद्यपि हिजोको विज्ञप्तिमा समेत गृहले बिहीबार विदा हुने खुलाएको थिएन।
सरकारले विदा दिने तय हुनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा शुभकामना सन्देश प्रवाह भएको थियो। त्यसले पनि बुधबार नै विदा हुनसक्ने सम्भावना देखाएको थियो। यद्यपि ओलीको शुभकामना सन्देशमा 'गृहको निर्णयपछि सार्वजिनक गर्नु' भन्दै 'इम्बार्गो' राखिएको थियो।
गृह मन्त्रालयले आज बिहान विदाको सूचना जारी गरेको हो।
कास्मिरी मस्जिदका पूर्व अध्यक्ष नेहाल शाहले चन्द्रमा नदेखिएकाले एक महिना लामो पर्वको अन्त्य बिहीबारका लागि तय भएको जानकारी दिए।