PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पूर्व सभासद मियाँको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद



रासस

राजविराज : विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदालाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ।
 
जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो। घटनाका मुख्य आरोपी सिरहा चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको अदालतले जनाएको छ।
 
सप्तरीको कल्याणपुर गाविस–२ निवासी ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २०७० जेठ २३ गते तथा नुरजहाँलाई २०७० जेठ २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो।
 
हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ।
 
रुबेदा र जमिरको प्रेम सम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह भएको थियो। सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो।
 
२०७० जेठ ६ गते राति उनीहरुले पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell