
काठमाडौं : ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा अहिलेसम्म सुधार नदेखिएको चिकित्सकहरुले बताएका छन्।
केही बेरअघि अस्पतालमै पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार कोइरालालाई ८० प्रतिशत कृत्रिम अक्सिजन दिइएको छ। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल चाबहिलमा रहेको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर पुर्याइएको थियो। बिहान सबेरै उनको ब्लड प्रेसर घटेर ६०/४० पुगेको थियो भने उनले वान्ता पनि गरेका थिए। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। पछि प्रेसरमा सुधार आई ९०/६० पुगेको डा. हरिकिशोर श्रेष्ठले बताएका थिए। अहिले भने प्रेसर १००/५० रहेको छ।
पत्रकार सम्मेलनमा डा. लभनरसिंह श्रेष्ठले निमोनिया नघटेको र प्रेसर बढाउनका लागि चार किसिमका कडा डोजका औषधि दिइराखेको बताएका छन्। 'अहिलेसम्म इम्प्रुभमेन्ट भयो भन्न सकिन्न। उहाँको अवस्था चिन्ताजनक नै छ,' उनले भने, 'किड्नीमा पनि समस्या देखिएको छ।' पाँच घन्टासम्मको अवधिमा पनि सुधारको अवस्था नदेखिएको उनले बताए।
कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्ली लैजाने कुरा भइरहे पनि चिकित्सकहरुले तत्काल लैजान चासो देखाएका छैनन्। 'नलानुस् भन्दैनौं तर यहीँ योग्य चिकित्सकहरु खटिनुभएकै छ,' डा. श्रेष्ठले भने, 'यस्तो क्रिटिकल अवस्थाबाट झिकेर लैजान निकै गाह्रो हुन्छ।'
अस्पतालले जारी गरेको विज्ञप्तिमा कोइरालालाई मिर्गौला र लिभरको पनि समस्या रहेको जनाइएको छ। उनको छातीमा ट्युब समेत राखेर उपचार भइरहे पनि अवस्था खतरापूर्ण नै रहेको अस्पतालको भनाइ छ।
उपचारमा डा. भगवान कोइराला, सुवोधसागर ढकाल, प्रमोद क्षत्री, राहुुल पाठक लगायत १५ जना चिकित्सकको टोली खटिएको छ।