PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पोर्चुगलका समर्थक प्रलय राजभण्डारी भन्छन्- 'जर्मनीले पक्का जित्छ'



पहिलोपोस्ट

पोर्चुगलका समर्थक प्रलय राजभण्डारी भन्छन्- 'जर्मनीले पक्का जित्छ'

काठमाडौं : प्रलय राजभण्डारी नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन्। हाल अमेरिकामा रहेका राजभण्डारी फ्रान्समा जारी युरोकपको मज्जा लिइरहेका छन्।
 
पहिलोपोस्टसँगको कुराकानीमा राजधण्डारीले अमेरिकामै रहेर पनि युरोकपका अधिकांश खेलहरु हेर्ने गरेको बताए। 'सुरुदेखि नै युरोकपका खेलहरु हेर्दै आएको छु। मुख्यमुख्य खेल छुटाएको छैन,' उनले भने, 'खेल निकै प्रतिस्पर्धात्मक भइरहेको छ। रमाइलै भइरहेको छ।'

नेपालमा युरोकप रातको समयमा परे पनि अमेरिकामा भने उनी दिउँसै हेरिरहेका छन्। उनी साथीहरुसँग बसेर हेर्ने गरेको छन्। उनलाई युरोकपले यति तानेको छ कि बाँकी गेम हेर्नलाई योजना नै बनाइसकेका छन्। सेमिफाइनल र फाइनल खेल हेर्नका लागि उनले कामबाट बिदा नै लिएका छन्।

आफूलाई पोर्चुगलको समर्थक मान्ने राजभण्डारी यसपालिको युरोकप उपाधि जर्मनीले नै जित्ने विश्वासमा छन्। 'मेरो समर्थन पहिल्यैदेखि पोर्चुगललाई हो,' उनले भने, 'यसपालि जर्मनीले पक्का जित्छ जस्तो लाग्छ, उनीहरुको खेल राम्रो छ।'

खेलाडीमा पनि उनलाई पोर्चुगलकै क्रिस्टियानो रोनाल्डो मन पर्छ। 'तर उनले सोचेअनुरुप खेल्न सकिरहेको छैनन्,' उनको मूल्यांकन छ, 'समर्थकहरुको रोनाल्डोमाथि जुन खालको आशा गरेका थिए पूरा गर्न सकेनन्।' उनको भनाइमा रोनाल्डो यसपटकको फ्लप खेलाडी हुन्।

रोनाल्डोसँगै अर्जेन्टिनाका लियोन मेसी पनि उनका मन पर्ने खेलाडी हुन्।

पुराना खेलाडीहरुमा भने उनलाई ब्राजिलका रोनाल्डो, रोनाल्डिन्हो, फ्रान्सका जिनेदिन जिदान र पोर्चुगलकै लुइस फिगो हुन्। यस संस्करणमा युरोकपमा उनलाई मन परेको खेलाडी अरुको भन्दा फरक छन् । 'वेल्सका जोए एलनले राम्रो खेले। फ्रान्सका एन गोलो कान्टे र पोल्याण्डका ग्रेगोज पनि राम्रो खेल्न सफल रहे,' उनी भन्छन्। 

अमेरिका गएको एक दशक बिते पनि फुटबललाई माया मार्न नसकेका राजभण्डारीले साथीहरुसँग मिलेर न्यु योर्क नेप्लिज फुटबल क्लब एनवाईएनएफसी नामक क्लब पनि खोलेका छन्। नेपाली खेलाडी मात्र रहेको उक्त क्लबले विभिन्न खालको प्रतियोगितामा भाग लिनुका साथै उपाधि समेत जितेको छ।

नेपालमा रहँदा दुई वर्ष राष्ट्रिय टिममा लागि खेलेका उनले अमेरिकामा फुटबलसँगै पढाइलाई पनि निरन्तरता दिइरहेका छन्। फ्रेण्ड्स क्लबबाट क्लब फुटबलमा डेब्यु गरेका उनले एनआरटी हुँदै थ्रीस्टारसम्म खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell