PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

यी हुन्, युरोकपमा क्रिस्टियानो रोनाल्डोका ४ रेकर्ड

यी हुन्, युरोकपमा क्रिस्टियानो रोनाल्डोका ४ रेकर्ड

पहिलोपोस्ट /पहिलोपोस्ट


क्लब फुटबलमा सबैखाले उपलब्धी आत्मसाथ गरिसकेका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगलका लागि अहिलेसम्म ठुला उपाधि जित्न सकेका छैनन्। तर ३ पटकको फिफा वर्ष खेलाडी रोनाल्डोले युरोकपका प्राय रेकर्ड आफ्नो नाममा लेखाइसकेका छन्। 

फ्रान्समा जारी १५ औं संस्करणको युरोकप अन्तर्गत वेल्स विरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका रोनाल्डोले यसअघि नै विभिन्न रेकर्ड कायम गरिसकेका छन्। 

युरोकपमा रोनाल्डोले बनाएका रेकर्डहरु यस्ता छन्

१. मिचेल प्लाटिनीको रेकर्ड बराबरी

वेल्स विरुद्ध गोल गरेसँगै पोर्चुगलका रोनाल्डोले युरोकपमा फ्रान्सका मिचेली प्लाटिनीको नाममा रहेको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन्। वेल्स विरुद्ध गोल गर्दै रोनाल्डोले ३१ वर्ष पुरानो रेकर्ड बराबरी गरेका हुन्।
जारी युरोकपकपमा ३ गोल गर्दै रोनाल्डाले प्लाटिनीको ९ गोलको बराबरी गरेका हुन्। सन् १९८४ को एकमात्र युरोकप खेल्दा प्लाटिनीले ९ गोल गरेका थिए। जुन अहिलेसम्म एकै संस्करणमा भएको सर्वाधिक गोल हो।
फ्रान्समा युरोकप खेल्न जानुअघि रोनाल्डोले अघिल्ला तीन युरोकपमा ६ गोल गरेका थिए। रोनाल्डोले जारी युरोकप अन्तर्गत समूह चरणमा हंगेरी विरुद्धको खेलमा २ गोल गरेका थिए।
यस्तै छनोट र मुख्य प्रतियोगितामा समेत गरेर रोनाल्डोले सर्वाधिक २९ गोल गरिसकेका छन्। छनोट चरणमा मात्रै सर्वाधिक गोल गर्ने रेकर्ड भने आयरल्याण्डका रोबी केनको नाममा छ। केनले २३ गोल गरेका छन्।

२. तीन पटक सेमिफाइनल खेल्ने पहिलो खेलाडी

सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा डेब्यु गर्दै पहिलो पटक सेमिफाइनल खेलेका रोनाल्डो ३ वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी बनेका छन्। सन् २०१२ को संस्करणमा पनि रोनाल्डोले सेमिफाइनल खेलेका थिए। तर पोर्चुगल स्पेनसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।
यस्तै जर्मनीका कप्तान बास्टिन स्वाइन्सटाइगर र लुकास पोडोल्स्कीले पनि सन् २००८ र २०१२ मा युरोकपको सेमिफाइनल खेलेका थिए। जारी युरोकपमा फ्रान्स विरुद्धको सेमिफाइनल खेल खेले उनीहरु पनि तीन सेमिफाइनल खेल्ने खेलाडी बन्नेछन्।

३. लगातार चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो युरोकपको लगातार चार संस्करणमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी बनेका छन्। सन् २००४ देखि २०१६ सम्म निरन्तर युरोकप खेलेका रोनाल्डो हरेक संस्करणमा गोल गर्न सफल भएका थिए। 

डेब्यु युरोमा २ गोल गरेका रोनाल्डोले सन् २००८ मा १ र सन् २०१२ मा ३ गोल गरेका थिए।

छनोट चरणमा समेत गरेर रोनालडोको गोलसंख्या २९ पुगेको छ । रोनाल्डोले छनोटमा २० गोल गरेका छन्।

४.युरोकपमा सर्वाधिक खेल खेल्ने रेकर्ड

रोनाल्डो युरोकप इतिहासमै सर्वाधिक खेल खेल्ने खेलाडी समेत बनेका छन्। जारी युरोकपमा ६ खेल खेलिसकेको रोनाल्डो अहिलेसम्म २० खेलमा सहभागिता जनाइसकेका छन् र अझै फाइनल खेल्न बाँकी नै छ।

सन् २००४ मा सबै ६ खेल खेलेका रोनाल्डोले २००८ मा ३ तथा २०१२ मा ५ खेल खेलेका थिए। यस्तै जर्मनीका कप्तन बास्टिन स्वाइन्स्टाइगर र इटलीका कप्तान तथा गोलरक्षक जियानलुजी बफोनले समान १७ खेलमा सहभागिता जनाएका छन्। कप्तानको रुपमा सर्वाधिक खेल खेल्ने रेकर्ड भने बुफोनकै नाममा छ। उनले कप्तान बनेपछि १३ खेल खेलेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell