काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख भए पनि खतरामुक्त भने नरहेको चिकित्सकले बताएका छन्।
आज बिहान सञ्चारकर्मीहरुलाई जानकारी दिँदै चिकित्सकहरुले उनको स्वास्थ्यमा हिजोभन्दा सुधार देखिए पनि 'क्रिटिकल' नै रहेको बताए।
हिजोसम्म उनलाई प्रेसर सन्तुलनमा ल्याउनका लागि कडा डोजका ४ किसिमका औषधि प्रयोग गरिएकोमा आजबाट आधा घटाइएको डा. लव नरसिंह जोशीले जानकारी दिए। 'उहाँको पिसाब र प्रेसरमा पनि सुधार भइरहेको छ,' उनले भने, 'यसरी नै सुधार भइरहे भोलि बेलुकासम्ममा भेन्टिलेटरबाट निकाल्न सकिन्छ।'
रातभर उनको अवस्था स्थिर नै रहेको थियो। अहिले उनलाई ब्लड प्रेसर ठिक गराउन औषधि दिइराखेको र छातीको एक्सरेमा पनि सुधार देखिएको अस्पतालको भनाइ छ।
मंगलबार रातिदेखि चाबहिलको ओम अस्पतालमा भर्ना भएका कोइरालाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको छ। उनमा पेट, श्वासप्रश्वासमा समस्या छ। वान्ता गर्ने क्रममा फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण पनि देखिएको अस्पतालले जनाएको छ।
फोटो : रासस फाइल