काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा)ले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएका गणेश थापा नेपालमा फुटबल टुर्नामेन्टको उद्घाटनमै सहभागी भएको पाइएको छ।
फिफा आचरण कमिटीले ९ नोभेम्बर २०१५ मा गरेको १० वर्षको निलम्बन र २० हजार स्वीस फ्रैंक जरिवाना गर्दै थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुनबाट रोक लगाएको थियो। फिफाले थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुने गरी घुस लिएको ठहर गरेको थियो।
तर फिफाको प्रतिबन्धलाई उल्लङ्घन गर्दै गएको जेठ २९ गते थापालाई दिवंगत ललितकृष्ण श्रेष्ठको स्मृतिमा सञ्चालन गरिएको अण्डर १८ प्रतियोगिताको उद्घाटनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले नै मञ्च उपलब्ध गराएको हो।
उद्घाटन समारोहमा कार्यक्रम सञ्चालक सञ्जीव शिल्पकारले थापालाई 'सांसद' भन्दै सम्बोधन गरेका थिए। तर पहिलोपोस्टलाई प्राप्त भिडियोमा थापा भने पूर्व अध्यक्षकै हैसियतमा प्रस्तुत भएका छन्। उद्घाटन समारोहमा १६ मिनेट १८ सेकेण्ड धारणा राखेका थापाले एन्फालाई आग्रहको शैलीमा निर्देशनसमेत दिन्छन्।
थापाले भनेका छन् - 'म आग्रह गर्छु अझै ललितकृष्णको परिवारलाई हेर्नुपर्छ, तपाइँहरु अझ सहयोग गर्नुस्।'
थापाले एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठभन्दा अगाडि धारणा राख्छन्। त्यतिमात्रै होइन कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले समेत थापालाई अध्यक्षकै सम्बोधन गर्छन्।
'हाम्रो अध्यक्षज्यूले अघि भन्नुभयो' , भन्दै श्रेष्ठले उनलाई उदृत गर्छन्।
घटनाबारे संक्षिप्त प्रतिक्रिया दिँदै एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पहिलोपोस्टलाई भने - 'इलिगल काम गरिएको छ।'
फुटबल राजनीति
एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निवासमै करेण्ट लागेर एक वर्षअघि जेठ २९ गते निधन भएको थियो। उनको स्मृतिमा टुर्नामेन्ट गर्ने निर्णय एन्फाले त्यतिबेलै गरेको थियो।ललितकृष्णको सम्झनामा २९ गते बिहान थ्रीस्टार फुटबल क्लबले पनि कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा फिफाको निर्देशनमा एन्फा फर्किएका उपाध्यक्ष कर्माछिमरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राईलाई निम्त्याइएको थियो।
तर सोही दिन एन्फाले आयोजना गरेको कार्यक्रममा भने उनीहरुलाई निम्ता दिइएको थिएन। उनीहरुलाई जेठ १९ गते नै एन्फाले पुन: बहाली गरेको थियो भने जेठ २१ गते पदस्थापन गरेको थियो। कर्मा छिरिङ, विजय र किशोरको पुनर्बहाली भएपनि अण्डर १८ टुर्नामेन्टमा भने हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबलाई सहभागी गराइएको थिएन।