PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रिभ्यु : फ्रान्सलाई जर्मनीविरुद्ध बदला लिने मौका



पहिलोपोस्ट

प्रिभ्यु : फ्रान्सलाई जर्मनीविरुद्ध बदला लिने मौका

फ्रान्समा जारी युरोकप २०१६ को अन्तिम सेमिफाइनल खेल आज राति हुँदैछ। विश्वविजेता जर्मनी र आयोजक फ्रान्सबीचको खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे मार्सेस्थित स्टेड भेलोड्रोमा सुरु हुनेछ। यी दुईबीचको विजेताले फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।
 
जर्मनी र फ्रान्स दुवै टोलीलाई सुरुदेखि नै उपाधि दाबेदारको रुपमा हेरिएको थियो। तर अब एक टोली मात्र फाइनल पुग्नेछ भने अर्कोको यात्रा सेमिफाइनलमै सकिनेछ।
 
दुई पूर्व विजेताहरुको भिडन्तमा आयोजक फ्रान्स सन् २०१४ को ब्राजिल विश्वकपमा बेहोरेको हारको बदला लिने दाउमा छ। क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० ले हराएको थियो। जर्मनी भने आयोजकलाई स्तब्ध पार्दै फाइनल पुग्ने योजनामा छ।
 
पछिल्लो संस्करणमा जर्मनी सेमिफाइनलबाटै आउट भएको थियो भने फ्रान्स क्वाटरफाइटलबाटै घर फर्केको थियो।
 
जारी युरोकपमा दुवै टोली अहिलेसम्म अपराजित छन्। दुवै टोलीले समूह चरणमा समान दुई जित र एक बराबरी नतिजा आत्मसात गरेका थिए।
 
जर्मनी गत संस्करणको फाइनलिष्ट इटलीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कीर्तिमानी आठौं पटक युरोकपको सेमिफाइनलमा पुगेको हो भने लगातार तेस्रो पटक। मुख्य प्रतियोगितामा इटलीलाई अहिलेसम्म हराउन नसकेको जर्मनीले नवौं प्रयासमा सफलता हात पारेको हो।
 
फ्रान्सले भने क्वाटरफाइनलमा जायन्ट किलर बनेर उदाएको आइसल्याण्डलाई ५-२ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। सन् २००० मा उपाधि जितेयता फ्रान्स सेमिफाइनल पुगेको हो।
 
जर्मनीले समूह चरणमा युक्रेन र उत्तरी आयरल्याण्डलाई हराएको थियो भने प्रिक्वाटरफाइनलमा स्लोभाकियालाई पराजित गरेको थियो। यस्तै, फ्रान्सले समूह चरणमा रोमानिया र अल्वानियालाई हराउँदा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो। प्रिक्वाटरफाइनलमा आयरल्याण्डलाई पराजित गरेको थियो।
 

अट्याक भर्सेस डिफेन्स

जर्मनी र फ्रान्सबीचको खेललाई अट्याक भर्सेस डिफेन्सको रुपमा हेरिएको छ। जर्मनीले अहिलेसम्म एक गोल मात्र बेहोरेको छ भने फ्रान्स सबैभन्दा बढी गोल गर्ने टोली हो।
 
फ्रान्सले अहिलेसम्म ११ गोल गरिसकेको छ र उसका ३ खेलाडी सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन्। एन्टोनी ग्रिज्मन, ओलिभर जिरुड र दिमित्री पायटको फरवार्ड लाइन निकै जमेको छ। कुनै पनि बेला यी स्ट्राइकर विपक्षीमाथि हाबी हुन सक्छन्। ग्रिज्मन ४ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छ भने भने जिरुड र पायटले समान ३ गोल गरेका छन्।
 
यता इटली विरुद्धको खेलमा एक मात्र गोल खाएको जर्मनीको डिफेन्स लाइन मजबुत छ। डिफेन्समात्र नभएर जर्मनीको गोलरक्षक पनि उत्कृष्ट छन्। मानुएल नोएले इटली विरुद्धको खेलमा पेनाल्टीमा मात्र गोल खाएका हुन्।
 
जारी युरोकपको सबैभ्नदा बढी क्लिनसिट नोएकै नाममा छ। उनले ४ खेलमा गोल खाएका छैनन्। डिफेन्समा जेरोम बोएटेङ, बेनेडिक्स हावडेज, जोनास हेक्टर र जोसुअ किमिचको लाइनअप उत्कृष्ट छ। सेन्ट्रल डिफेन्डर माट्स हुमेल्स भने निलम्बनका कारण फ्रान्सविरुद्ध खेल्न पाउने छैनन्।
 
हुमेल्लससँगै स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी केडिरा चोटका कारण फ्रान्सविरुद्ध खेल्न सक्नेछैनन्। गोमेज त युरोकपबाट नै आउट भइसकेका छन्। गोमेजको स्थानमा अगाडि थोमस मुलरलाई खेलाउने र मारियो गोट्चालाई पहिलो रोजाइमा खेलाउने योकिमले बताएका छन्। यस्तै कप्तान बास्टी पनि फ्रान्सविरुद्ध खेल्ने भएका छन्।
 
फ्रान्सका सबै खेलाडीहरु पूर्ण रुपमा फिट छन्। एक खेल निलम्बनमा परेका मिडफिल्डर एन गोले कान्टे र डिफेन्डर एदिल रामी जर्मनी विरुद्धको खेलमा उपलब्ध हुनेछन्। तर प्रशिक्षक डिडियर डेसच्यामसले डिफेन्डर उमटिटीलाई नै निरन्तरा दिने सम्भावना पनि छ। मिडफिल्डमा कान्टे र सिसोको मध्ये एकले खेल्नेछन्।
 

इतिहासमा फ्रान्स अगाडि, मुख्य प्रतियोगितामा जर्मनी हाबी

यी दुई राष्ट्रबीचको इतिहास हेर्दा फ्रान्स अगाडि छ भने मुख्य प्रतियोगिताहरुमा जर्मनी हाबी भएको देखिन्छ।
 
अहिलेसम्म भएको २७ खेलमा फ्रान्सले १२ खेल जितेको छ भने जर्मनीले ९ खेलमा जित हात पारेको छ। पछिल्लो पटक गत नोभेम्बरमा फ्रान्समै भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जर्मनीलाई २–० ले हराएको थियो। तर मुख्य प्रतियोगितामा भने जर्मनी फ्रान्समाथि हाबी भएको छ।
 
सने १९५८ को विश्वकपमा फ्रान्सले जर्मनीलाई ६–३ ले पराजित गरेको थियो। तर त्यसपछिका विश्वकपको ३ भेटमा जर्मनीले जित हात पारेको छ।
 
१९८२ को विश्वकपमा जर्मनीले फ्रान्सलाई हराएको थियो। त्यसको ४ वर्षपछिको भेटमा जर्मनीले पुन: फ्रान्सलाई हरायो। २०१४ मा ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० ले हराएको थियो।
 
युरोकपमा पहिलो पटक आमनेसामने हुन लागेको यी २ टीमबीचको खेल रोमाञ्चक हुने फुटबल पण्डितहरुको विश्लेषण छ।
 
खेल हुने समय : मध्यरात १२:४५
खेल हुने स्थान : स्टेड भेलोड्रोम, मार्से
हेर्नलायक खेलाडी : मानुएल नोए-जर्मनी, एन्टोनी ग्रिज्मन-फ्रान्स
हेड टु हेड : जर्मनी ९, फ्रान्स १२, बराबरी ८ 
युरो सहभागिता : जर्मनी १२, फ्रान्स  ९
फिफा वरियता : जर्मनी ४, फ्रान्स १७ 
मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६
                     फ्रान्स विजेता सन् १९८४, २०००
 

सेमिफाइनल खेलाउने रेफ्री

रेफ्री : निकोला रिजोली, इटली
असिस्टेन्ट रेफ्री : एलेनितो दि लिबेरातोर, माउरो टोनोलिनी, इटली
एडिसनल असिस्टेन्ट रेफ्री : डानिएल ओर्साटो, एन्टोनियो दामाटो, इटली
फोर्थ अफिसिएल : दमिर स्कोमिना, स्लोभेनिया        



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell