काठमाडौं : आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्म दिन। उनको जन्मदिनलाई पूर्व राजा होइन बहालवाला नै राजा भएको देखाउन भारदार र समर्थकहरु बिहानै उनको महाराजगञ्जस्थित निर्मल निवासमा पुग्छन्। यसापाला पनि भयो त्यस्तै।
गणतन्त्रमा राजाको पक्षमा लबिङ गर्नेदेखि पूर्व भारदार र दरवार नजिक रहेकासँगै केही सर्वसाधारण पनि पुगे निर्मल निवास। शाहका हातमा फूलका गुच्छा थमाए। राजनीतिमा सक्रिय हुनुपर्ने सुझाव दिए उनलाई। गणतन्त्रविरुद्ध वीष बमन पनि गर्न भ्याए। यसरी पूर्व राजालाई शुभकामना दिन जानेको पङ्तिमा उपप्रधानमन्त्री कमल थापा पनि थिए।
पूर्व राजालाई जन्मदिनको शुभकामना दिन जानेहरुको हातमा गणतन्त्रविरुद्ध नारावाजी र राजतन्त्रको समर्थनका प्ले कार्डहरु थिए।
पूर्वराजा सामु पुगेर राजतन्त्रको पक्षपोषण र गणतन्त्रको वदख्वाई गर्नेहरुको धैर्यता भने देखिएन। ज्ञानेन्द्रको जन्मदिन मनाउँदै फर्केनहरुले आफूसँगको प्ले कार्ड समेत बोकेर फर्किन सकेनन्। हातमा लिएर गएका राजतन्त्र फर्कनुपर्ने नारा लेखिएका प्ले कार्ड उनीहरुले निर्मल निवास बाहिरै विसर्जन गरे।
पूर्व राजाको जन्मदिन मनाएर फर्कनको हतारो हुनुपर्छ उनीहरुले नालीतिर फ्याँके प्ले कार्ड जसमा लेखिएका थिए - राजतन्त्र जिन्दावाद। जे होस् - ह्याप्पी वर्थ डे ज्ञानेन्द्र शाह।