PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

बाबुराम भट्टराई भन्छन्- 'सरकार ६/६ महिनामा फेर्नका लागि होइन'



पहिलोपोस्ट

बाबुराम भट्टराई भन्छन्- 'सरकार ६/६ महिनामा फेर्नका लागि होइन'

विराटनगर : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनको खेलले राजनीतिक स्थायित्व नहुने बताएका छन्।
 
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक पार्टीहरुले सरकार परिवर्तनभन्दा व्यवस्था परिवर्तनमा जोड दिनुपर्ने बताए। 'विभिन्न जाति, समुदायको विविधतापूर्ण देशमा राजनीतिक स्थायित्व र समृद्धि आवश्यक छ,' उनले भने, 'यसका लागि पहिलो सर्त नै राष्ट्रिय एकता हो। सरकार ६/६ महिनामा फेर्नका लागि होइन।'
 
निरन्तरको सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढ्दा मुलुकमा समृद्धि सम्भव नभएको भन्दै उनले राजनीतिक स्थिरतामार्फत विकास र समृद्धि हासिल गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा समेत जोड दिए। ‘नयाँ शक्ति जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा जोड दिन्छ,’ उनको भनाइ थियो, ‘यसबाट सरकार परिवर्तनको खेल रोकिन्छ र जनताले अनुभूति हुने गरी राजनीतिक व्यवस्था नै परिवर्तन हुन्छ ।’
 
संविधानप्रति असन्तुष्ट समूहलाई सम्बोधन गरेर स्थानीय निकाय निर्वाचन जहिले गरे पनि हुने उनले धारणा राखे। 'मधेसी, जनजाति लगायतका समूह आन्दोलनमा छन्,' उनले भने, 'संविधान संशोधन गरेर उनीहरुको मागलाई सरकारले सम्बोधन गर्नुपर्छ।'
 
प्रदेशको सीमांकन तथा स्थानीय निकायको पुनर्संरचना गरेर एकैपटक तीन वटै निर्वाचन गरे राज्यलाई आर्थिक लगायतका भार कम पर्ने उनको भनाइ छ।
 
दुई दिनका लागि पार्टीको काममा पूर्वी जिल्लाको भ्रमणमा हिँडेका भट्टराई दिउँसो धनकुटाको भेटेटारमा हुने प्रदेश नम्बर १ का जिल्ला संयोजकहरुसँग परामर्श बैठकमा सहभागी हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell