PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कान्तिपुर गाथा : ऊ नै नभएपछि के को मज्जा?



किशोर नेपाल

कान्तिपुर गाथा : ऊ नै नभएपछि के को मज्जा?

​एवी कफी पसलबाट निस्किएको केही बेरमा नै हातमा हेलमेट बोकेर आइपुगी अपरा। ऊ ग्रीन कलरको टू पीसमा थिइ। वर्षातको मौसम, उसैपनि हराभरा,  हरियो। त्यसमाथि साउन लागेपछि पूरै कान्तिपुर शहर हरियो सौन्दर्यमा डुब्छ। शहरका प्रायजसो केटीहरु ग्रीन कलरमा भेटिन्छन्। ग्रीन अर्थात् कूल। धर्म र सौन्दर्य दुवै दृष्टिले। जतिसुकै फेसनेबल देखिए पनि कान्तिपुरका केटीहरुमा धर्मको आकर्षण छ। जस्तो कि, अपरा मनैले धार्मिक छे। साउनको सोमबार पशुपति मन्दिर जान मिस गर्दिन ऊ। बिहानै मन्दिर जान्छे। गणेशजीलाई लड्डु र हनुमानजीलाई सिन्दूरको प्याकेट चढाउँछे। त्यो बाहेक उसको जीवन धर्मको अरु कुनै विधिमा अल्भि्कएको छैन। 

कनिका जति विन्दास छे, त्यो भन्दा बढी नै विन्दास छे अपरा। तर पनि, उसले आफनो ब्वाइफ्रेण्ड मेण्टेन गरेकी छे। बेलाबेलामा घरमा बिहेको कुरा उठ्दा ऊ मसक्क मस्किन्छे। उसका ममी–ड्याडी खुशी छन्। केटीले आफनो भविष्य सोची सकेकी छ।

सोफामा बस्ने बित्तिकै अपराले कनिकाको प्याकेटबाट एउटा सिगरेट निकाली र सल्काइ। एक कप क्यापचिनोको अर्डर गरी र कनिकालाई सोधी,  'एइ, तँ केही खान्छेस्?' कनिका मुण्टो हल्लाइ,  'नाईं।' ऊ एवीका बारेमा सोच्दै थिइ, 'कस्तो चाइल्डिस क्यारेक्टरको मान्छे।' उसले एवीको अनुहार सम्झिइ र हाँसी। उसको चाला देखेर अपरा बोली, 'एइ, कनि, खुस्किइस् कि के हो?' त्यसपछि अपरा आफै हाँसी। कफी र मफिन खाइसकेपछि अपराले भनी, एइ उठ। कन्सर्टको टाइम भैसक्यो। 

उनीहरु दुवै उठे र शेर्पा मलतिर लागे।

कन्सर्ट शुरु भै सकेको थिएन। आयोजकले कन्सर्ट अझै आधी घण्टा शुरु नहुने बताएपछि उनीहरुले दरवार मार्गको फन्को मार्न थाले। दरवार मार्गको फेरिएको रुप देखेर कनिकाका छक्क परेकी थिइ, 'बुझिस् अपरा, मी ए ग्रेट इडियट। मैले त सडकको बीचमा उभिएका यी ल्याम्पपोष्टहरुको त यादै नगरेकी रहेछु। तैंले याद गरेकी थिइस् त?'

अपराले जवाफ दिइ, 'मलाई तैंले आफैं जस्तो मूर्ख ठानिस कि के हो? ल्याम्पपोष्टको यत्रो लाइन पनि नदेख्ने। इमिडियटली कन्सल्ट योर अप्थाल्मोलजिष्ट।'

तर के मात्रै हेर्नु र के मात्रै सम्भि्कनु? दरवार मार्गका आउटलेटहरुको डेकोर दिनहूँ चेन्ज भै रहन्छ। रियालिटीलाई भर्चुअल रियालिटीले विस्थापित गरेको छ। तडक–भडक भनेको त्यस्तै हो, आज एउटा छ भोलि अर्कै छ। कनिकालाई त कफी शपको लुक्स चेन्ज भएको पनि थाह थिएन। थाह कसरी हुनु? त्यस्तो फर्मल रेष्टुराँमा छिर्नै मन लाग्दैन उसलाई।

यो आधा घण्टाको बीचमा अपरा र कनिकाले दरवार मार्गको तीन फेरो मारे। बीचमा अन्नपूर्णको एटीएम लाउन्जबाट अपराले पैसा निकाली। उनीहरु रोड क्रस गरेर कन्सर्ट भेन्यूमा पुग्दा पनि शो शुरु हुने कुनै तयारी नै थिएन। अपरा काउण्टरमा पुगी शोको बारेमा सोधपूछ गर्न। म्युजिक व्याण्डका एक जोडी प्रेमी कलाकार बेपत्ता भएछन्। उनीहरु आउने–नआउने कुनै टुंगो थिएन। दुवैको मोवाइलको स्वीच अफ थियो। अपराले सोधी, 'त्यसो भए क्यान्सिल, होइन त?'

काउण्टरमा बस्नेले जवाफ दियो, 'सरी मिस। खै के भनौं र?'

कन्सर्टको रहर सेलायो दुवैको। अपराले भनी, 'अब के गर्ने?'

कनिकाले सुझाई, 'न्यूरोड जाउँ।'

ती दुवै न्यूरोड नगएको वर्ष बितिसकेको थियो। अपराले आफनो स्कूटी कान्तिपुरको डाउन–टाउनका रुपमा चिनिएको न्यूरोडतिर सोझ्याई र कनिका पछाडि बसेकी छ भन्ने विचारै नगरी हुईंक्याइ। बिचरी कनिका बल्लतल्ल सेटल भइ स्कूटीमा। न्यूरोड गेटदेखि नै शुरु भै हाल्यो न्यूरोडको भीड। दरवार मार्गको बजार गुल्जार नहुन्जेल यहीं त हुन्थ्यो शहरको सबभन्दा महंगो शपिंग।

उनीहरु वसन्तपुरको चाट बजारतिर लागे। दुइवटा मिक्सचाटको अर्डर गरेर चाट हाउसको एउटा कुनामा उभिए। 

अपराले सोधी, 'के छ एइ, तेरो भालेको हालचाल? फोन त गर्छ नि?'

निन्याउरो स्वरमा जवाफ दिइ कनिकाले, 'खै के भनौ। फोन, भाइवर, स्काइप, च्याट त सँधै हुन्छ। तर उसको शरीरको तातो नपाएसम्म, ऊ अगाडि नभएसम्म मजा नै नआउने क्या मोरी। खोई दुई महिनामा फर्किन्छु भनेको पनि पाँच हप्ताभन्दा बढी भै सक्यो, अहिलेसम्म पनि दुई महिनामा फर्किन्छु भन्न छाडेको छैन।'

कनिकाको अनुहार हेरेर अपरा हाँसी र भनी, 'हेर व्वाई फ्रेण्ड भनेको चाहिन्छ क्या। त्यसको शरीरको गन्धले नै ताजा बनाउँछ। म त विषम कतै गयो भने टिक्नै सक्दिन। चार–पाँच दिन बिताउन पनि कस्तो अनइजी फिल हुन्छ।'

यस्तो कुराले कनिकालाई झन टोक्छ। उ सोच्न थाल्छे, दुई महिनामा आउँछु भनेको चार्ली छ महिनामा पनि आएन भने उसले के गर्ने? चार्लीको विकल्प अरु कुनै केटा हुनसक्छ भन्ने उसले सोचेकै छैन। साँच्चै के गर्ने होला? कनिका आत्तिन्छे। 

कनिकाको समस्या थाह भएर पनि कुनै सल्लाह दिने अवस्थामा थिइन अपरा। उसले के सुझाव दिने? अपरा अलमलमा थिइ। वातावरणलाई रमाइलो बनाउन अपराले भनी, 'चिन्ता नगर, चार्ली आएन भनेपनि चार्ली जस्ता केटा त जति पाइ हाल्छेस।'

अपराको कुरा सुनेर कनिकालाई उसको मुख च्याती दिउँ जस्तो लाग्यो। उ केही बोलिन। अपराले थाहा पाउने गरी रिसाइ मात्र।

फर्किने होइन? अपराले सोधी। कनिकाले भनी, 'आइ वील स्टे फर सम मोर टाइम। यु क्यान गो इफ यू लाइक।' 

अपराले कुरा बुझी। उसले स्कूटर स्टार्ट गरी र वडवडाइ, 'फ..वीच।'

स्कूटर कनिलाई छाडेर मूल सडकमा दौडियो। 

कनि चार्लीलाई आफनो आँसु देखाउँदै थिइ भिडियो च्याटमा।  

​​(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा) 

यो सिरिजका अन्य गाथा- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell