PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

ह्वात्तै घटे अखबार पढ्नेहरु, समाचारका लागि मोबाइलको भर



पहिलोपोस्ट

ह्वात्तै घटे अखबार पढ्नेहरु, समाचारका लागि मोबाइलको भर

वासिङ्टन : अमेरिकीहरु समाचारका लागि अखबारभन्दा मोबाइल डिभाइसमा भर पर्न थालेको एक अध्ययनले खुलासा गरेको छ। अध्ययनले छापामा भर पर्नेको संख्या थप घट्दै गएको देखाएको हो।

दी प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीन वर्षको अन्तरालमा अखबारमा भर पर्नेहरु मोबाइल डिभाइसतिर तानिन थालेका छन्। टेलिभिजन भने अझै समाचारको स्रोतका रुपमा बलियो अवस्थामा रहेको अध्ययनले देखाएको छ। टेलिभिजनको हकमा त स्थानीय, नेटवर्क र केबुल टेलिभिजनको पनि बलियो उपस्थिति देखिएको छ।

मोबाइलमा समाचारका लागि भर पर्नेको संख्या सन् २०१६ मा ७३ प्रतिशत पुगेको छ जुन सन् २०१३ मा ५४ प्रतिशत थियो। यसमा ३६ प्रतिशत रेस्पोन्डेन्ट पनि समावेश छन् जसले 'कहिलेकाँही' स्मार्ट फोन वा ट्याब्लेटबाट समाचार ग्रहण गर्छन्।

अखबारी पत्रकारिताबाट युवा पुस्तालाई डिजिटल र मोबाइल प्रविधिले आफूतिर तानिरहेको अध्ययनले देखाएको छ। युवामध्ये २० प्रतिशतले भने कहिलेकाही अखबारबाट समाचार लिने गरेको बताए जबकि तीन वर्षअघि यो संख्या २७ प्रतिशत थियो।

समग्रमा १० मध्ये ८ जना रेस्पोन्डेन्टले कहिलेकाही अखबारबाट सूचना लिने गरेको जानकारी दिए जुन अघिल्लो वर्षको तुलनामा सामान्य फरक हो।

तर जनसांख्यिक हिसाबले हेर्ने हो भने अखबारको पाठक आफैमा चुनौती बन्दै गइरहेको छ : १८ देखि २९ वर्ष समूहका ५ प्रतिशतले मात्र कहिलेकाही पत्रिका पढ्ने गरेको बताए। ६५ वर्षभन्दा माथिको समूहमा यो ४८ प्रतिशत छ।

युवापुस्ताका लागि प्रिन्ट एडिसन 'होल्ड' गर्नु भनेको झर्को लाग्ने विषय बनेको प्यु अनुसन्धानकर्ता जेफरी गोटफ्रेडले भने। तर, त्यही पत्रिकाको अनलाइनबाट सूचना लिनेमा भने नाटकीय परिवर्तन नभएको उनले जनाए।

'पाको उमेरका भन्दा युवा पुस्ताले अनलाइनबाट समाचार लिइरहेका हुन्छन्,' उनले भने।  

अमेरिकीका लागि समाचार अझै पनि महत्वको विषय नै छ : हरेक १० मा ७ जनाले स्थानीय र राष्ट्रिय समाचारलाई नजिकबाट हेरिरहेको हुन्छन् र ६५ प्रतिशतले विदेशी समाचारलाई अविछिन्न रुपमा 'फलो' गरिरहेको हुन्छ।

सबै ८१ प्रतिशत अमेरिकीले यस्ता समाचार मोबाइलबाट सेयर हुने वेबसाइट, एप्लिकेसन र सामाजिक सञ्जलाबाट लिने गर्छन।

टेलिभिजन अझै पनि महत्वपूर्ण समाचार स्रोतका रुपमा रहेको अध्ययनले देखाएको छ। ५७ प्रतिशत वयस्कले टेलिभिजनमा आधारित समाचार लिने गर्छन्। प्रसारण हुने स्थानीय र राष्ट्रिय समाचारमा मानिसहरुको रुचीमा सामान्य परिवर्तन देखिएको छ र केबुल न्युज हेर्नेको संखेया बढेको छ।

'अमेरिकीहरुमा स्क्रिनमा समाचार हेर्न चाहन्छन् र टेलिभिजनले यसमा सबैलाई पछि पार्छ,' गोटफ्रेडले भने।

डिजटल समाचारका पाठक/दर्शक बढेको भए पनि अझै उनीहरुले अनलाइनमा पढेका समाचारमा विश्वस्त हुनेक्रम भने यसको विस्तार जत्तिकै तीब्र छैन।

जम्मा ४ प्रतिशत वयस्कले मात्र अनलाइनमा आएका सामग्रीलाई पूर्ण रुपमा पत्याउने गरेको बताएका छन्।

'डिजिटल न्युजहरु अझै किशोरावस्थामा छन्,' गोटफ्रेडले भने, 'सर्वसाधारणहरु अझै पनि अनलाइनबाट लिएको समाचारमा संकास्पद रुपमा नै व्यवहार गर्छन्।'

'अमेरिकीहरु मिडियालाई समाजको पहरेदारका रुपमा ग्रहण गर्छन् तर धेरै अर्थात् ७४ प्रतिशले भने समाचारहरु कुनै पक्षतिर ढल्किने गरेको सुनाउँछन्,' अध्ययनमा भनिएको छ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल पछिल्लो समय समाचारका स्रोतका रुपमा विकास भएका छन्। प्युको अनुसन्धानले २६ प्रतिशतले सामाजिक सञ्जालमा सेयर भएका स्टोरीहरु क्लिक गर्ने गरेको देखाएको छ।

तर समाचारको खोजीमा रहेकाहरु अनलाइनलाई फेसबुक सेयरिङबाट हुने ब्राउजिङभन्दा फरक रुपमा हेर्छन्। यीमध्ये समाचारको खोजीमा रहने ६३ प्रतिशतले पूरै समाचार खोज्छन् भने ४३ प्रतिशतले कहिलेकाही मात्र खोज्छन्।

प्युले यो दुई आधारमा अध्ययन पूरा गरेको हो : जनवरी १२ देखि फेब्रुअर ८ सम्म ४ हजार ६ सय ५४ मानिसबीच प्रश्नमार्फत यसले सूचना संकलन गरेको थियो भने दोस्रोमा १४ वटा छोटा अनलाइन सर्बेक्षण गरेको थियो फेब्रुअरी र मार्चमा जसमा २ हजार ७६ ले सहभागिता जनाएका थिए। अध्ययनमा मार्जिन अफ इरर २.४ प्रतिशत पोइन्ट अनुमान गरिएको छ।
(एएफपीमा प्रकाशित समाचारको भावानुवाद)
फाइल फोटो : एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell