काठमाडौं : २०५७ सालदेखिको अध्ययन र खोजपछि लोपेन दावा साङवो योल्मोपादले बौद्ध दर्शन र शिक्षासम्बन्धी पुस्तक 'तिब्बती बौद्ध परम्परा, यारलुङ वंश र योल्मो' शनिबार सार्वजनिक गरेका छन्।
हिमाली बौद्ध धर्म र यारलुङ वंशसँग सम्बन्धित सो किताब उनले आफ्नो स्नातकोत्तरको शोधपत्रका रुपमा तयार गरेका थिए।
काठमाडौंको बौद्धमा भएको कार्यक्रममा प्रमुख अतिथि लोड्रो रिम्पोछेले पुस्तकको अनावरण गरे।
'आफूले पढेको, खोजेको र जानेको कुरा अरुले पनि बुझून् भनेर थेसिसलाई किताबमा रुपान्तरन गरेको हुँ,' हिमालयन बुद्धिज्म सम्बन्धी पठनपाठन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गरेका लेखकले भने, 'बौद्ध शिक्षा अन्तर्गतको अध्ययन र अनुसन्धानमा पनि काम लाग्ने विश्वास गरेको छु।'
शेर्पा, तामाङ, होल्मो जाति र बौद्ध धर्म मान्नेहरुका लागि मात्र नभएर पुस्तक सबै सम्प्रदायका लागि उत्तिकै महत्वपूर्ण रहने उनको भनाइ छ।