PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

थाहा पाउनुस्, युरोकप जित्नेले कति रकम पाउँछन् पुरस्कार?



पहिलोपोस्ट

थाहा पाउनुस्, युरोकप जित्नेले कति रकम पाउँछन् पुरस्कार?

फ्रान्समा चलिरहेको १५ औं संस्करणको युरोकप उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच नेपाली समयअनुसार आइतबार मध्यरात प्रतिस्पर्धा हुँदैछ।
 
विजेताले मेडल, ट्रफीसँगै अर्बौं नगद पुरस्कार समेत प्राप्त गर्नेछन्।
 
सहभागी संख्या १६ बाट बढाएर २४ पुर्‍याएसँगै युइएफएले यसपटक पुरस्कार रकममा वृद्धि गरेको छ। जसअनुसार च्याम्पियन बन्न टोलीले २७ मिलियन युरो प्राप्त गर्ने अवसर पाउने थियो तर अब फ्रान्स र पोर्चुगल जसले जिते पनि २७ मिलियन पाउने छैन। किनकि कुल पुरस्कारमा समूह चरणको खेल नतिजाको बोनस समेत जोडिनेछ। समूह चरणका तीन वटै खेल जित्ने टीमले मात्र पूरै २७ मिलियन युरो प्राप्त गर्नेछ।
 
फ्रान्सले समूह चरणमा दुई खेल जित्दै एक बराबरी गरेको थियो भने पोर्चुगलले तीन वटै खेल बराबरी गरेको थियो। समूह चरणमा एक खेल जिते बराबर एक मिलियन युरो र एक खेल बराबरी गरे ५ लाख युरो पाउनेछ।
 
यस्तो अवस्थामा फ्रान्सले युरोकप २०१६ जिते २६.५ मिलयन युरो प्राप्त गर्नेछ भने पोर्चुगलले जिते २५.५ मिलियन युरो पाउनेछ। विजेताले र उपविजेताले मात्र नभई प्रतियोगितामा सहभागी भएका २४ वटै टीमले रकम प्राप्त गर्नेछन्।
 
प्रतियोगिताको सुरुमा सहभागिता स्वरुप प्रत्येक २४ राष्ट्रले ८ मिलियन युरो प्राप्त गर्नेछन्।
 
समूह चरणको खेल जित्नेले १ मिलियन तथा बराबरी गर्नेले ५ लाख युरो बोनस प्राप्त गर्नेछ। तर नकआउट चरण प्रवेश गर्ने टीमले भने बोनस पाउनेछैन। त्यसको सट्टा अन्तिम १६ मा पुग्नेले १.५ मिलियन र क्वाटरफाइनल पुग्नेले २.५ मिलियन प्राप्त गर्नेछन्। यस्तै सेमिफाइनलिष्टले ४ मिलियन युरो पाउनेछ ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले च्याम्पियन बने स्वरुप ८ मिलियन तथा उपविजेता हुनेले ५ मिलियन प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell