
इटहरी : रेशम विरहीको निबन्धकृति 'देब्रे आँखा'माथि सुनसरीको इटहरीमा परिचर्चा भएको छ।
कवि मनु मञ्जिलले काव्यात्मक मूल्यसँग हरेक विधाको चुली मापन हुने भन्दै यस कृतिमा कवितात्मक भावको सम्मिश्रण प्रचुर मात्रामा भएको बताए।
साहित्यको उच्चतम विन्दु कविता रहेको भन्दै उनले यो विविध विधामा विभाजित भए पनि अन्ततः कविताको स्वाद भएको कृति नै पठनीय र जीवन्त हुने दाबीसमेत गरे। लेखकको कृतिमा साहित्यसँगै जीवन पनि बोलेका हुनाले यो निकै संग्रहणीय र पठनीय कृति रहेको उल्लेख गरे।
पत्रकार तथा निबन्धकार दीपक सापकोटाले कृतिमा नेपाली समाजको चित्रण स्पष्ट रुपमा चित्रित गरिएको बताए। उनले भने, 'लेखकले आफूले देखेको र भोगेको समाजका पात्रहरुलाई जीवन्त बनाउनुभएको छ।'
परिचर्चालाई संयोजन गरेकी कवि सीमा आभासले नारी चरित्रलाई कोमलताका रुपमा मात्र चित्रण गरिएकोमा पुरुष लेखकको दम्भ भएको व्याख्या गरिन्। 'पुरुष लेखकको कलमको टुप्पोले महिलालाई अझै न्याय गर्न सकेको छैन।'
वक्ताहरुले पुस्तकमाथि बोलिसकेपछि लेखक विरहीले नारीको कोमलतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेका थिए। 'म त उक्त कोमलतालाई नारी शक्तिको रुपमा बुझ्छु। पात्रलाई त्यसैगरी फिँजाएको हुँ,' उनले प्रष्टीकरण दिए।
पुस्तकबारे प्राज्ञ उपेन्द्र पागल, डा. भिम खतिवडा, कवि विराट अनुपम लगायतले बोलेका थिए। प्रगतिशील लेखक संघ सुनसरीले आयोजना गरेको कार्यक्रमलाई शब्द प्रवाह इटहरीले सह–संयोजन गरेको थियो।