काठमाडौँ : अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायत विभिन्न छवटा मजदुर सङ्गठनको संयुक्त अधिवेशनले सालिकराम जम्मरकट्टेलको अध्यक्षतामा ७६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
आज अबेर सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेश रेग्मी, जय कार्की, धनबहादुर विक, सोनालाल साह, उषा देवकोटा, एसबी थापा, कार्साङ लामा, राजेन्द्र किराती र कुमार छन्त्याललाई चयन गरेको छ।
नवनिर्वाचित उपाध्यक्ष रेग्मीका अनुसार अधिवेशनले महासचिवमा जगत सिंखडालाई निर्वाचित गरेको छ । अधिवेशनले मजदुरको पेसागत हित, श्रम ऐनको कार्यान्वयन एवम् बदलिँदो परिवेशमा समयानुकूल श्रम तथा सोसँग सम्बन्धित ऐन नियमको निर्माणलगायतका विषयमा राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ।
यस्तै, श्रम तथा श्रमिकका माग पूरा गराउन सरोकार भएका सबै पक्षहरुको सर्वपक्षीय परामर्शमा जोड दिने, सामाजिक सुरक्षा कोषको रकमको सदुपयोगलगायतका विषयमा समेत छलफल भएको उनले जानकारी दिए।
महाधिवेशनले सङ्गठनको नामसमेत अखिल नेपाल ट्रेड युनियन महासङ्घ नै कायम गरेको छ । महाधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए। रासस