PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

​सपनाको बचाउमा सुशीला : सुनुवाईमा भनिन्- दोष लगाउनु हुन्छ भने मलाई लगाउनुस् अरुलाई हैन



मनोज सत्याल

​सपनाको बचाउमा सुशीला : सुनुवाईमा भनिन्- दोष लगाउनु हुन्छ भने मलाई लगाउनुस् अरुलाई हैन

काठमाडौँ : प्रधान न्यायाधीशका लागि सिफारिश भएकी सुशीला कार्कीले संसदीय विशेष सुनुवाई समितिमा न्यायाधीशका लागि सिफारिश भएकी सपना प्रधान मल्लको बचाउ गरेकी छिन्। 

समितिका सदस्यहरुले राजनीतिमा सक्रिय रहेकी सपनाको सिफारिशको विषयमा प्रश्न सोधेपछि उनले भनिन्, 'सपनाको नियुक्तिका विषयमा मलाई सोध्नुस्, मलाई दोष दिनुस्।'

'मन्त्री खरेललाई पनि गाली नगर्नुस्, कल्याण श्रीमानलाई पनि गाली नगर्नुस्', समितिमा आफ्नो तर्क राख्ने क्रममा उनले अगाडि भनिन्, 'यो मेरो अभियान मध्येको एउटा अभियान थियो महिलालाई ल्याउने।'

कार्यवाहक प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालिरहेका कार्कीले केही समयअघि आफू अन्तर्राष्ट्रिय महिला न्यायाधीशको सम्मेलनमा जाँदा भोगेको अनुभव पनि सुनाइन्। 

'तिमीहरुकहाँ कति जना महिला न्यायाधीश छ भनेर मलाई सोधियो। मैले सात जना भन्दा पूरै हल हाँस्यो। मुस्लिम देशमा समेत सय जना न्यायाधीश थिए त्यतिबेला।'

'त्यसपछि मैले यो अभियान सुरु गरेकी थिएँ', उनले अगाडि भनिन्, 'दामोदर श्रीमानको पालामा नै मैले सोधेकी थिएँ सपनालाई तिमी न्यायाधीश बन्न चाहन्छौँ भनेर। अर्की एक जनालाई सोध्दा न्यायाधीश भएर खानै पुग्दैन भन्ने जवाफ दिइन्।'

सपनाको पक्षमा तर्क गर्दै उनले भनिन्, 'उनले २० वर्ष वकालत गरेकी छिन्। हार्वर्डबाट अध्ययन गरेकी छिन्। मान्छे नै छैनन् अरु।'

'विभिन्न रिट हालेर नजिर बनाउँदा सपना योग्य हुने, अहिले अयोग्य हुने कसरी?' उनले सोधिन्। सपनालाई न्यायाधीश सिफारिश गर्दा तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठले आफूलाई मलाई अभियोग लगाउने वातावरण बनाउँदै हुनुहुन्छ तपाईँ भनेर समेत भनेको उनले सुनाइन्।  

राजनीतिक पृष्ठभूमिबाट आएकालाई न्यायाधीश नियुक्ति गर्दा अदालतमा राजनीति हुन्छ भनी सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, 'राजनीतिको चप्पल खोलेर अदालत पस्ने हो। आफ्नै बाउको मुद्दा आयो भने मैले अहिले पनि हेर्न मिल्दैन। त्यस्तै भन्ने हो भने त म पनि त नेविसंघ मोरङको सभापति थिएँ कुनै बेला। त्यतिबेलाको कुरालाई अहिले जोड्न मिल्दैन।'

उनले आफू न्या्याधीश हुँदा बेन्च नतोक्नेसम्मको कुरा भएको र पीडा र आँसु पिएर थेगेको अनुभव पनि सुनाइन्। 
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell