PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

'कूल मुड'मा करिस्मा, चञ्चल हिरोइनको भलाद्‍मी पारा



सविन ढकाल

'कूल मुड'मा करिस्मा, चञ्चल हिरोइनको भलाद्‍मी पारा

काठमाडौं : आइतबार मध्यान्ह १२ बजे नायिका करिष्मा मानन्धर काठमाडौंको भृकुटीमण्डपमा देखा परिन्। आज कुनै फिल्मको सुटिङ गर्न उनी यहाँ झुल्केकी थिइनन्।

अभिनेत्रीबाट नेत्रीमा रुपान्तरित भएकी छिन् उनी। सादा सेतो/कालो मिसिएको फुलबुट्टे कुर्ता र सेतो चुरिदार सुरुवालमा उनी हिरोइन स्वरुपमै उपस्थिति थिइन्। तर शान्त मुद्रामा। हाउभाउ पनि चञ्चल थिएन। लाग्थ्यो शतर्क छिन्। केही बोल्ड देखिएकी उनी आफ्नै आइ ट्वान्टी कारमा आएकी थिइन्। करिब आधा घण्टा भृकुटीमण्डमा रहँदा उनी खासै उपस्थितहरुसँग बोलिनन्।
 
उनले 'ज्वाइन' गरेको नयाँ शक्ति नेपाल पार्टीको दर्ता निर्वाचन आयोगमा गराउने कार्यक्रम थियो आज। र्‍याली सहित निर्वाचन आयोग पुग्ने कार्यक्रममा नयाँ शक्तिबाट राजनीतिमा 'डेब्यु' गरेकी उनी सहभागी नहुने कुरै भएन। त्यसमाथि पनि उनी सुरुमै केन्द्रीय सदस्य ! राजनीतिको शास्त्रबाट टाढा रहेको अभिनयमा रमाइरहेकी उनी राजनीतिमा कति हिट हुन्छिन् थाहा छैन। तर, नेपाली रजतपटमा उनी अहिलेसम्मकै अग्ली अभिनेत्री हुन्।

पार्टीको र्‍यालीमा सहभागी हुन पुगे पनि करिष्माको हातमा कुनै झण्डा थिएन, अरुले लगाएजस्तो नयाँ शक्ति नेपालको क्याप पनि उनको शिरमा थिएन। आँखामा कालो चस्मा खुलेको थियो। नङमा गुलाबी पोलिस र ओठमा डार्क रेड लिपस्टिक लगाएकी उनी यहाँ मिडियाको केन्द्रमा मात्र रहिनन्। उनीसँग सेल्फी खिच्ने रहर गर्नेका लागि पनि आकर्षक रहिन्। राजनीतिक गफ र माहोलमा भन्दा यहाँको आधी घण्टाको बसाई अरुको क्यामरामा कैद हुँदाहुँदै बित्यो उनले।

पार्टीका संयोजक बाबुराम भट्टराईको आउनासाथ र्‍याली निर्वाचन आयोगतिर बढ्यो। करिष्मा भने सबैभन्दा आखिरीतिर आफै ड्राइभ गर्दै निर्वाचन आयोग पुगिन्। दल दर्ताको निवेदन दिएपछि उनी अलमलिनन्। सरासर आफ्नो गाडीमा बसिन् र लागिन् गन्तब्य तिर। राजनीतिमा उनको डेब्युले उनको यात्रा कहाँसम्म जान्छ त्यो पछि देखिने नै छ किनकि दल भर्खर दर्ताको प्रकृयामा प्रवेश गरेको छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell