
काठमाडौँ : डा. गोविन्द केसीले आफूले दिएको समयसीमाभित्र माग पूरा नभएको आजदेखि आमरण अनसन सुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै प्राङ्गणमा पत्रकार सम्मेलन गरेपछि उनी अनसन बसेका हुन्।
त्रिभुवन विश्वविद्यालय चिकिस्साशास्त्र अध्ययन संस्थानको गणेशमान ;सिंह भवनको तेश्रो तल्लामा केसीले अनसन प्रारम्भ गरेका हुन्। केसीले अनसन सुरु गरे लगत्तै उनको पक्षमा झण्डै एक सय विद्यार्थीले नाराबाजी गरेका थिए।
उनीहरुले गोविन्द केसीको पक्षमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंंह कार्कीको विपक्षमा नाराबाजी गरेका हुन्। केसीको चार बुदेँ मागमा कार्की विरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्नुपर्ने समेत उल्लेख छ।
यसैबीच टिचिङ अस्पताल परिसनमा केसीको अनसनको विरोधमा समेत नाराबाजी भएको छ। उनको अनसनको विरोधमा पर्चा सहित झण्डै पचास जनाको समूह विरोधमा उत्रिएको हो। उनीहरुले अस्पताल परिसर भित्र अनसन बसेकोमा विरोध जनाएका हुन्।


यी हुन् डा. केसीका माग
डा. केसीले गएको असार १२ गते पत्रकार सम्मेलन गर्दै यी माग पूरा नभए असार २६ देखि आमरण अनसन बस्ने बताएका थिए-१. चिकित्सा शिक्षा ऐनको मस्यौदामा निम्न बुँदा लगायतका सुधार गरेर संसदको यही अधिवेशनबाट तुरुन्त सो ऐन पारित गरियोस्
– सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट नि:शुल्क गरियोस्।
– सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस्।
-काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण नगरियोस्।
-अधिकतम शुल्क र सिट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू र मेडिकल काउन्सिलले निर्धारण गरेझैं हुने व्यवस्था गरियोस्।
-आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायहरूसित समन्वय गरोस्।
२. आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टहरूलाई संरक्षण दिएका र अरू जिम्मेवार पदाधिकारीहरूलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाओस्। र, सम्बन्धित आयुक्तहरूलाई पनि कारबाही गरियोस्।
३. माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस्।
४. विगतमा भएका निम्न लिखित सम्झौतालगायत सबै सम्झौता अविलम्ब कार्यान्वयन गरियोस्।
-त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गरियोस्।
-अबको शैक्षिक सत्रदेखि मेरिटमा आधारित भर्ना, शुल्क र सिट सीमालगायत बुँदाहरू कडाइका साथ कार्यान्वयन हुने व्यवस्था गरियोस्।
-विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा अन्त गर्न शिक्षामन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञको नेतृत्वमा सर्च कमिटी बनाउने कानुनी व्यवस्था गरियोस्।
-अनियमितता र भ्रष्टाचारमा मुछिएका आईओएम र त्रिविका पूर्वपदाधिकारीहरूमाथि तत्काल छानबिन र कारबाही गरियोस्।
अख्तियार Vs डा.केसी
डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै भष्टाचारीलाई संरक्षण दिँदै सीमा बाहिर गएर केयुको परीक्षामा हस्तक्षेप गर्ने उनलाई महाअभियोग लगाउनु पर्ने माग समेत राखेका छन्। उनको यो मागपछि अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले डा. केसीको मानसिक उपचार गराउनु पर्ने माग राख्दै कडा वक्तव्य निकालेका थिए।बारम्बार आफ्नो न्यूनतम आचरण र जिम्मेवारीको दायराबाट विमुख भएको आरोप लगाउँदै डा.केसीको मानसिक उपचार गराउन समेत सरकारसँग आग्रह अख्तियारले गरेको थियो। तर पछि विज्ञप्तिबाट 'मानसिक' भन्ने शब्द हटाइएको थियो।
विगत केही दिनमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको पक्षमा र डा. केसीको पक्षमा मिडिया र सोसल मिडियामा आरोप प्रत्यारोप हुने गरेका छन्।
३३ चिकित्सकको विरोध
यसैबीच अनसनका लागि कोठाहरु उपलब्ध गराइ पाउँ भन्दै ३३ चिकित्सकले डा. केसीमाथि विभिन्न आरोप लगाउँदै आइतबार दिउँसो २ बजेदेखि नै अनसन बस्ने र त्यसका लागि कोठा उपलब्ध गराइदिन अस्पताल निर्देशक समक्ष दिएको निवेदन सार्वजनिक गरियो। उनीहरुले मेडिकल माफियाहरुको प्रायोजनमा डा. केसीले आन्दोलन गर्न लागेको आरोप लगाइएको छ।उनीहरुले देशद्रोहीहरुको साथ पाएका डा. केसीलाई हदैसम्मको कारबाही गर्दै अनसनका कारण भएको क्षति र सरकारी कोटामा निःशुल्क अध्ययन गर्न जाँदा राज्यले व्यहोरेको रकमको सावाँ ब्याज असुल उपर गरी कारबाही गर्न पनि माग गरेका छन्।

