काठमाडौँ : प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस भएपनि संसदीय सुनुवाई समिति नहुँदा लामो समय देखि सुशीला कार्कीको अनुमोदन हुन सकेको थिएन। कार्यवाहक प्रधान न्यायाधीशको रुपमा जिम्मेवारी सम्हालिरहेकी कार्कीको सुनुवाई नहुँदा नियुक्ति र सपथ हुन सकेको थिएन।
उनै कार्कीलाई सुनुवाई समितिले आइतबार बिहान ११ बजे संसदीय सुनुवाईका लागि डाकेको थियो। कार्कीकै शब्दमा 'खाना समेत नखाई' उनी सुनुवाईमा उपस्थित भएकी थिइन्। सुनुवाई समितिमा पुरै 'डोमिनेटिङ' शैलीमा प्रस्तुत भएकी कार्कीले बीचमा सांसदहरुलाई हँसाउन समेत छाडिनन्। यी हुन सुनुवाई हुँदाका सात दृश्य-
चीनकाजीलाइ चिनियाँकाजी
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई उनले चिनियाँकाजी भनेर सम्बोधन गरिन्। हलमा हाँसो फैलियो। कार्की आफैँ पनि सँगसँगै हाँसिन्। सामुन्ने रहेका चीनकाजीले पनि हाँसो रोक्न सकेनन्।'अर्को प्रश्न छ हाम्रो चिनियाँकाजीको', कार्कीले यति भनेपछि हलमा उपस्थित सबैले चीनकाजी भएको जानकारी गराए।
कार्कीले हाँस्दै भनिन् – 'सरी चीनकाजी।' उनले मिस्टेक हुनुको कारण पनि बताउँदै भनिन् लेख्दाखेरी मेरो अक्षर त्यस्तै भएछ। उनले हाँस्दै भनिन् – 'अनुहार हेर्दा त तपाँइको फरक नपर्ला जस्तो छ।' सांसद, पत्रकार र कर्मचारीमा फेरि हाँसो फैलाइदिइन् कार्कीले।
तपाँइहरुलाई बेवकुफ बनायो
कार्कीले एकजना उजुरीकर्ताले मानव अधिकार आयोगमा नियुक्तिका विषयमा गरेको उजुरीमा जवाफ दिने क्रममा सांसदहरुलाई उजुरीकर्ताले बेवकुफ बनाएको टिप्पणी गरिन्।'कस्तो भने त्यसले तपाइँहरुलाई बेवकुफ नै बनायो', उनले आफूले कुनै विभेद उजुरीकर्तालाई नगरेको भन्दै भनिन् – 'मेरो त्यो कोही होइन। ज्वाइँ होइन, कोही होइन। किन विभेद गर्न पर्यो मैले।'
उनले एक व्यक्तिले मानव अधिकार आयोगमा नियुक्तिका लागि निस्किएको नोटिस अनुसार दर्खास्त नगरेको अनि उनकै वकिल बद्रीबहादुर कार्कीले - मुद्दासम्म झुण्ड्याइ दिन आग्रह गरेको समेत खुलाइन्।
'ऊ नोकरी गरिरहने, अनि त्यसले मेरो विरुद्ध लाञ्छाना लगाउने', उनले भनिन्, 'दर्खास्त दिने समय १४ गते थियो, मुद्दा नै मेरोमा १६ गते आएको थियो। अनि कसरी 'स्टे अर्डर' दिने? १६ गते आएको मुद्दामा पालिस लगाउन सम्भव छ र।'
'यसले मलाई आर्यघाटसम्म पनि नछाड्ने भयो'
उनले एक जना उजुरीकर्ताले बढुवा नभएको विषयमा गरेको उजुरीमा पक्षमा फैसला नदिएको भन्दै आफू विरुद्ध उजुरी गरेको बताइन्। साथै सबैलाइ हँसाउने गरी जवाफ दिइन्। उनले बढुवा माग भएको मुद्दामा आफूले कार्य क्षमता अभाव देखेकै कारण विपक्षमा फैसला गरेकाले नै उजुरी परेको खुलाइन्।'संसदले हेरेर वरेर मूल्याङ्कन गरेर गरेको रहेछ', उनले भनिन्, 'संसदले यो मान्छे भन्दा यो उपयुक्त भनेर पठाएर तोकेपछि रिटमा मुद्दामा आउनुभयो। हामीलाई संसदको ठीक लाग्यो, संसदको सदर गर्यौँ। उहाँको कार्यक्षमता देखिएन। अनि कार्यक्षमता जसको हो त्यसलाइ दिने न हो', उनले आफ्नो फैसलाको बचाउ गर्दै भनिन्, 'उहाँ अनि संसदको विरुद्धमा नआउने अनि सँधै मेरा विरुद्धमा ०६८ मा पनि उजुरी गर्ने, कल्याण श्रेष्ठको विरुद्धमा पनि गर्ने, मेरो अन्तिम सुनुवाईमा पनि गर्ने? यो मान्छेले मलाई आर्यघाटसम्म पनि नछाड्नेभयो।'
कार्कीले यति जवाफ दिएपछि हलमा हाँसो फैलियो। साथमा कार्की समेत केही बेर रोकिएर हाँसिन्।
त्यो मन्त्री के खरेल, उसलाई पनि गाली नगर्नुस्
सांसद सइन्द्र वान्तवाको प्रश्नको जवाफ दिने क्रममा पनि कार्की केहीबेर रोकिइन्। उनले सइन्द्र वान्तवाको नाम दोहोर्याएर सोधिन्। त्यसो त पहिला नै चीनकाजी श्रेष्ठको नाम चिनियाँकाजी भनेकी उनले पछि कानुन मन्त्री अग्नि खरेलको समेत पूरा नाम लिइनन्।सपना प्रधान मल्लको सर्वोच्चमा न्यायाधीश पदमा सिफारिसमा कल्याण श्रेष्ठ र कानुन मन्त्रीलाई गाली नगर्न उनको सुझाव थियो।
'त्यो मन्त्री के खरेल, उसलाई पनि गाली नगर्नुस् । (सपना प्रधान मल्ल नियुक्ति) यो मेरो एजेण्डा थियो', उनले भनिन्। कार्कीले खरेलको पूरा नाम नभनेपछि अन्य सांसद र पत्रकारहरुले अग्नि खरेल भन्दै जवाफ दिएका थिए।
मेरो व्यक्तित्वमा प्रश्न!
सुनुवाईको क्रममा बसुन्धरामा करोडौँको सम्पति जोडेको भन्दै उजुरी आएको भन्दै सांसद धर्मनाथप्रासद शाह तेलीले कार्कीलाई प्रश्न सोधेका थिए।१५ सदस्यीय समितिमा १३ जना सांसद उपस्थित थिए। शाहले मात्र उनको सम्पतिबारे प्रश्न सोधेका थिए। प्रश्न सोधे लगत्तै आफ्नो खामबाट कागज निकालेर उनले अदालतको कर्मचारीलाई फोटोकपि गर्न पठाएकी थिइन्।
पछि जवाफ दिने क्रममा कागज पत्र पेश गर्दै उनी तेलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइन्। उनले सबैभन्दा पहिला तेलीकै प्रश्नमा जवाफ दिइन्।
'म सबैभन्दा पहिला धर्मनाथजीको प्रश्नमा आउँछु। किनकी यो मेरो व्यक्तित्व माथिको प्रश्न भयो', उनले सम्पति विवरण खुलाउँदै घर बनाउने क्रममा सञ्चयकोषमा ६ लाख ऋण लिएको समेत बताइन्। साथै कहाँको जग्गा बेचेको भन्दै कागजात समेत सभापतिलाई पेश गरिन्। अनि साढे ६ लाख आनामा भिरालोमा जग्गा किन्नु परेको बाध्यता बताइन्।
साथै सांसदलाई व्यङ्ग्यसमेत गरिन् – 'हावाको भरमा कसैले कुरा उठाउँदैमा कुरा उठाउनु हुदैँन।'
संवैधानिक परिषद्को बहस
कार्कीले संवैधानिक परिषद्मा उठेको एउटा विषय समेत बैठकमा सार्वजनिक गरिदिइन्। उनले भनिन् – 'हाम्रो पार्टीको मान्छे खोइ भन्ने अनि राजनीतिक नियुक्ति पनि भन्ने।'उनले अदालतमा राजनीतिक मान्छे आउन हुँदैन भन्ने तर्कमा सहमत नरहेको बताइन्। 'म भोट दिन्न र, कोही कांग्रेस कोही कम्युनिष्ट कोही माओवादी होलान्', उनले भनिन्, 'अदालत कानुन अनुसार जानुपर्छ। आज मैले दिएको निर्णय पार्टीको फेभरमा गरे भनेँ इतिहासमा मलाइ सराप्ने काम हुदैँन? कस्तो खालको न्यायाधीश रहेछ भनेर।'
स्याबासी दिनु कता हो कता, आलोचना?
कार्कीलाई एमाले सचेतक भानुभक्त ढकालले मुद्दाको पेसी तोक्नकै लागि अमेरिकाबाट छिट्टै फर्किएको भन्ने प्रश्न गर्दै अदालतमा न्यायाधीशको एकताबारे प्रश्न सोधेका थिए। जवाफमा कार्कीले आफ्नो पारिवारिक कारण र लामो समय रहन सक्ने अवस्था नरहेकाले फर्किएको बताएकी थिइन्।'फर्केर आएँ त के खराबी भयो? अघिल्लो दिन १२ बजे घरमा आएर भोलिपल्ट बिहान अफिस गएँ', उनले भनिन्, 'स्याबासी दिनु त कता हो कता उल्टो आलोचना।'