PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

को हुन् सुशीला कार्की? जो इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश बनिन्

को हुन् सुशीला कार्की? जो इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश बनिन्

पहिलोपोस्ट /पहिलोपोस्ट


  • कालिका खड्का
काठमाडौं : इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिक रुपमा आफ्नो जिम्मेवारी सुरु गरेकी छिन्।
 
प्रधानन्यायाधीशका रुपमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आजै पदभार ग्रहण गरिन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिले आइतबार सो सिफारिस अनुमोदन गरेको थियो।
 
सो समिति गठन नहुँदा सुनुवाइमा ढिलाइ भएकाले उनले कामु प्रधानन्यायाधीशका रुपमा झण्डै तीन महिनादेखि जिम्मेवारी सम्हालेकी थिइन्।
 
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत वैशाख १ गते उमेर हदका कारण अवकाश भएपछि वरिष्ठता, क्षमता र योग्यताका आधारमा कार्की प्रधानन्यायाधीश बन्न सफल भएकी हुन्।
 

को हुन् कार्की?

कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो। उनले प्रधानन्यायाधीशका रुपमा करिब ११ महिना गर्नेछिन्।
 
उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन्। २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानुनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो।
 
अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन्। उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन्।
 
२०४५ देखि २०४७ सम्म कार्की कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन्। त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन्। त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन्।
 

भ्रमण र स्वभाव

अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्ड लगायतका देशको भ्रमण गरिसकेकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण छिन्।
 
तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरेकी उनीसँग सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरेको अनुभव छ।
  
निडर स्वभाव र सरल जीवनशैली अपनाउने उनी न्याय क्षेत्रमा स्वच्छ छविका रुपमा परिचित छिन्।

नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्च पदमा पुग्न सफल भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्तीपछि यो अवसर कार्कीलाई मिलेको हो। (रासस)


ट्रेन्डिङ पोस्ट

Ncell