डोटी : दीपायल–सिलगढी नगरपालिका– १४ पादरीमा आज बिहान करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। यस घटनामा अन्य चार विद्यार्थी घाइते भएका छन्।
विद्यालय जाने क्रममा चुँडिएर भुइँमा खसेको बिजुलीको तार छुँदा स्थानीय गणेश आउजीका १० वर्षीया छोरी रोजी र आठ वर्षीया रेश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए।
दुर्गा निमावि खाडीलेकमा अध्ययनरत कक्षा दुईकी छात्रा रोजी र कक्षा एककी रेश्माको घटनास्थलमै मृत्यु भएको हो। करेन्ट लागेर १० वर्षीया कालु आउजी, आठ वर्षीया इश्वरा आउजी, १० वर्षीया सन्तु आउजी र आठ वर्षीया सीता आउजी घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ।
मृतकका आफन्तले क्षतिपूर्तिको माग राख्दै घटनास्थलबाट शव उठाउन दिएका छैनन्।