काठमाडौं : २०६५ सालको माघ १ गते वरिष्ठ अधिवक्ताको रुपमा सुशीला कार्की मोरङ जिल्ला अदालतमा बहस गर्दै थिइन्। अचानक उनलाई न्याय परिषद्बाट खबर पुग्यो।
'खबरमा भनियो, हजुरले सर्वेच्चको न्यायाधीश बन्नुपर्यो,' उनले त्यो दिन सम्झिइन्।
न्यायपरिषद्बाट आएको खबरले कार्कीको मुटु घडीको सुईजस्तो फित्रिक-फित्रिक हल्लियो। आफ्नो विगत सम्झँदै उनी भन्छिन्, 'म ३१ वर्षदेखि वकालत गर्दै आएको थिएँ। त्यत्रो वर्षसम्म बनाएको जुन मेरो स्टेज छ त्यो कसैको माया मोहले बन्दैन।'
उनलाई न्यायाधीश बन्नका लागि प्रस्ताव आउँदा पाँच सय मुद्दा थिए उनकै ल फर्ममा। काम गर्ने मानिस समेत थिए चार पाँच जना।
'मेरो त्यो स्टेज भत्काउनका लागि मैले न्यायाधीशको प्रस्तावमा पनि सोच्नुपर्ने भयो,' उनी भन्छिन्, 'किनकि चार-पाँच जनाको भविष्यको कुरा पनि भयो।'
प्रस्तावमा कुनै निर्णयमा पुग्न नसकेकी सुशीला अदालतमा न्यायाधीशसँग समय मागेर घर फर्किइन्।
'हतार-हतारमा घर पुगेँ,' न्यायाधीश बन्ने प्रस्ताव आएको दिन सम्झँदै उनी भन्छिन्, 'घरमा मेरो नाबालक छोरो थियो। अनि मैले सल्लाह लिने मेरो श्रीमान्।'
न्यायाधीशको प्रस्तावबारे उनले श्रीमानलाई सुनाइन्। केही बेर सोचे र उनैले निर्णयका लागि सहज बनाइदिए, 'तिमी जाऊ, यो देशको सेवा हो। वकालत गरिहाल्यौ यत्रोवर्ष। वरिष्ठ अधिवक्ता भइहाल्यौ। यहाँभन्दा के चाहियो?'
श्रीमानबाट ढाडस पाएपछि फोनबाटै 'ओके' गरिदिइन् उनले।
त्यसपछि न्यायाधीशको रुपमा यात्रा सुरु भयो उनको। झण्डै आठ वर्ष अस्थायी र स्थायी न्यायाधीश हुँदै प्रधानन्यायाधीश सम्हाल्दै गरेकी कार्की कडा मिजासकी छिन्।
उनी सर्वोच्च अदालतमा महिला न्यायाधीश मात्र होइन नेपालको इतिहासमा नै पहिलो महिला प्रधानन्यायाधीश बनेकी छिन्।
आफूले सर्वोच्चमा बिताएको समयको एक-एक हिसाब छ उनीसँग।
'सात वर्ष सात महिना भएछ सर्वोच्चमा। मैले काम गरेका हेर्ने हो भने आफ्नो प्रयासले ८ हजार ४ सय ६४ मुद्दा फैसला गरेछु', संसदीय सुनुवाई समितिमा आइतबार उनले गर्वसाथ आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गरेकी थिइन्।
कामु प्रधानन्यायाधीश भएपछि वैशाख २ गतेयता मात्रै कार्कीले ९ सय ३५ थान मुद्दाको फैसला गरिसकेकी छिन्।
उनी यसबर्ष सबैभन्दा धेरै मुद्दा फैसलाको रेकर्ड बन्न लागेको उल्लेख गर्छिन्। अनि चुनौती दिन्छिन्, 'तुलना गर्नुस्, मैले महिला मात्र भएर काम गरेको हो कि पुरुषसरह काँधमा काँध राखेर नजिता निकाल्ने प्रयास गरेकी हुँ!'
त्यसो त उनी सर्वोच्चका न्यायाधीशहरुले 'ताइमा फुरौली' बनेर काम गरिरहेको उल्लेख गर्छिन्।
कामु प्रधानन्यायाधीश भएपछि आफूले सर्वोच्चमा गरिबका मुद्दा, तराई मुलका मानिसका मुद्दा र साना मुद्दा हेर्न थालेको उनको अनुभव छ।
'तल दुई अड्डामा हारेका मुद्दामा हामीले अहिले दर्ता भएपछि भोलिपल्ट सुनुवा गर्छौँ',' उनी आफ्नो कार्यशैली सुनाउँछिन्।
'म एउटा फगत महिला हो, शो पिसको रुपमा मात्र हो भन्ने नमान्नु', उनी आफ्नो व्याख्याले अवमूल्यन हुने हो कि भन्नेमा सचेत देखिन्छिन्।
नेपालको इतिहासमा बहालवाला मन्त्रीलाई भ्रष्टाचारी ठहर गर्ने फैसला समेत गरेकी उनका अन्य फैसलाहरु अहिले कलेजहरुमा पढाइन्छन्। छलफलहरुमा पनि ती उदाहरणको रुपमा प्रस्तुत गरिन्छन्।
२०६८ फागुन १० गते तत्कालीन सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गरी जेल सजायको फैसला गरेकी थिइन् कार्कीले। उनलाई साथ दिएका थिए तर्कराज भट्टले। त्यतिमात्रै होइन उक्त इजलालसले विशेष अदालतका अध्यक्ष र सदस्यलाई कारबाही गर्न समेत न्यायपरिषद्लाई सिफारिस गरेको थियो।
सर्वोच्च अदालतमा रहँदा पनि कार्कीलाई सजिलो भने थिएन। उनी आफूले बिताउनुपरेको आठ वर्षमा कति पटक आँसु पिएर खडा रहेको बताउँछिन् उनी। ज्वरो आउँदा समेत आफूले मुद्दा हेर्नुपरेका उदाहरण प्रशस्त छन् उनीसँग।
'सिके राउतको बन्दी प्रत्यक्षीकरणको रिट पनि मैले हेरेको हुँ। त्यसदिन मलाई ज्वरो आइरहेको थियो। कसैले नहेर्ने भएपछि मलाई पारियो', उनी त्यो सकसपूर्ण दिन सम्झन्छिन्, 'त्यसमा मैले टेक्निकल विषय पनि व्याख्या गरेको छु। जहाँ मुद्दा चलेको छ, त्यहाँ बन्दी प्रत्यक्षीकरण आकर्षित हुँदैन भनेर बोलेकी छु।'
फिल्म बन्ने फैसला
कार्कीलाई आफूले गरेका केही फैसला फिल्म बन्न योग्य छन् भन्ने पनि लाग्छ। उनी आफूले गरेको फैसला गर्वसाथ सुनाउँछिन्।'साँच्चि भन्ने हो भने त्यसको फिल्म बनाए हुन्छ', उनी भन्छिन्।
आमाबाबु नभएकी एउटी १४ वर्षकी किशोरी। उनी कसैको घरमा नोकरानी बसेकी हुन्छिन्। उनलाई बालविवाहको प्रपञ्च रचेर बलात्कार गरिन्छ। पछि बलात्कारको केस चल्न थाल्छ। त्यसपछि उनलाई सिक्किममा बेच्न लैजाँदा बोर्डरमै संलग्नहरु पक्राउ पर्छन्। मुद्दा अघि बढ्छ।
यस्तै प्रकृतिको दर्दनाक मुद्दाको केस पनि हेरेको अनुभव छ कार्कीसँग। 'यो मुद्दा मैले व्याख्या गरेपछि सरकारले अहिले एउटा आदेश गरेको छ। व्याख्यामा बोलेको छु- कतिपय पीडित बिनापैसाका, कुनै आर्थिक हैसियत नभएका हुन्छन्,' उनी भन्छिन्, 'त्यस्तोमा कसले न्याय दिने? त्यस्ता असहायलाई? त्यस्ता असहाय बालबालिकालाई सरकारले हेर्नुपर्छ भन्ने मैले बोलेँ। सुरक्षा होइन क्षतिपूर्ति दिनुस् भनेँ।'
आजको भोलि फैसला
एउटा मुद्दामा आजको भोलि नै फैसला दिएको उदाहरण समेत छ उनीसँग। 'एउटा मान्छे बेञ्चमा आयो र भन्यो, 'म ब्लडप्रेसरको सिकार, दुई पटक हार्टअट्याक भइसकेको छ। म मुद्दाकै लागि प्लेनमा आउन सक्दिनँ। म मर्छु।'
'त्यस व्यक्तिप्रति निकै सहानुभूति जागेर आयो,' कार्कीले सुनाइन्, 'उनको मुद्दामाथि आजको भोलि नै फैसला दिएँ।'
जिल्ला अदालतले टिपोट गरेर मेन्सन गर्ने अनि पुनरावेदनले पनि टिपोट गरेर मेन्सन गरेकै कारण सर्वोच्चमा एक छिनमै आफ्नो ठहर लेख्न सकिएको उनी बताउछिन्।
न्यायलयको सर्वोच्च जिम्मेवारी सम्हालेसँगै उनीसँग केही विशेष योजना छन्। जस्तो कि 'न्याय सबै माग्न आऊन् र सबैले न्याय पाउन्।'
निडर र हक्की स्वभावकी कार्की अन्तरिम संविधानको मस्यौदा समितिमा समेत रहेर काम गरिसकेकी छिन्।
खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट अन्तरिम सरकारको अध्यक्ष बनाउने निर्णय तत्कालीन संविधानविपरीत रहेको ठहर गरेकी थिइन्, उनले। नयाँ संविधानअनुसार गठन भएको संवैधिनक इजलासमा पाँच न्यायाधीशमध्ये तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र कार्कीले संविधानविपरीत रहेको ठहर गरेका थिए। भलै इजालसमा उनीहरुको ठहर अल्पमतमा परेको थियो।