PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

प्रमुख निर्वाचन आयुक्त यादवद्वारा पदभार ग्रहण



रासस

प्रमुख निर्वाचन आयुक्त यादवद्वारा पदभार ग्रहण

काठमाडौँ :  निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तका रुपमा डा. अयोधीप्रसाद यादवले आज पदभार ग्रहण गरेका छन्।
 
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथपछि कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यलयमा पुगी उनले पदभार सम्हाले।
 
अर्थशास्त्रमा ‘विद्यावारिधि’ यादव आयोगको १३औँ प्रमुख निर्वाचन आयुक्त बन्न पुगेका छन्।  उनले २०७२ भदौ ११ गतेदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका रुपमा कार्यभार सम्हाल्दै आएका थिए। संसदीय विशेष समितिले असार २४ गते प्रमुख निर्वाचन आयुक्तका रुपमा यादवको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो।
 
२०६३ पुस २७ गते निर्वाचन आयुक्त पदबाट आयोगमा प्रवेश गरेका यादवसँग २०६४ र २०७० सालमा दुईपटक संविधानसभा निर्वाचन सम्पन्न गरेको अनुभव छ। स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्नका लागि गर्नुपर्ने कामका बारेमा यादवले आयोगमा रही ९ वर्षभन्दा बढी काम गरिसकेका छन्।
 
स्नातकोत्तर तहको अर्थशास्त्रबाट महेन्द्र मोरङ क्याम्पसबाट स्वर्णपदक विजेता उनले सोही विषयमा २४ वर्ष अध्यापनमा बिताइसकेका छन्। केही समय उनले तत्कालीन जुट विकास तथा व्यापार संस्थानको महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालेका थिए।
  
२०११ मा सप्तरीको प्रशवनी गाविस बनौलीमा उनको जन्म भएको थियो। उनी नेपाल रेडक्रस सोसाइटी सप्तरी जिल्ला शाखा, सप्तरी मानवअधिकार फोरम र नेपाल बार एसोसिएसनजस्ता संस्थामा पनि आबद्ध छन्।
 
पदभार सम्हाल्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले पहिलो काम नै संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउनु रहेको बताए। संविधानको प्रावधानअनुसार स्थानीय, सङ्घ-प्रदेश र संसद्को निर्वाचन गराउन आयोग कार्ययोजनासहित अगाडि बढिसकेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell