PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

फेसबुकबाट सौताको बेइज्जत गर्न खोज्दा आफ्नै इज्जत गुम्यो



सविन ढकाल

फेसबुकबाट सौताको बेइज्जत गर्न खोज्दा आफ्नै इज्जत गुम्यो

काठमाडौँ : दुई वर्षअघि मात्र विपिन ठकुरी*को जीवनमा दोस्री श्रीमती भएर भित्रिइन् सुर्खेतकी गंगाचन्द्र ठकुरी। जेठी श्रीमती विनिता*सँग वैवाहिक जीवन सुखमय नभएपछि २७ वर्षीय गंगालाई उनले विवाह गरेका थिए।  

वैवाहिक जीवनमा बाँधिएका विपिन र गंगाको बाँकी जीवन सुखमय रुपमा नै बितेको थियो। सौता भनिए पनि विपिन र गंगाबीच सम्बन्ध विच्छेद भइसकेको थियो। तर पनि वरपर बस्दै आएका गंगा र विनिताबीच विवाद बढ्दै गयो।

एकअर्काका शत्रु बनेका गंगा र विनिता एकले अर्कोलाई समाजमा नङग्याउन खोज्थे। विनितालाई समाजमा जसरी भएपनि बेइज्जत गराउने उपाय खोज्न थालिन् गंगाले।

सौतालाई बेइज्जत गर्ने राम्रो माध्यमका रुपमा उनले देखिन् सामाजिक सञ्जाल। गंगाले विनिताको नाममा फेक आइडी खोलिन् र त्यसबाट नै आफन्तहरुलाई रिक्वेस्ट पठाउन थालिन्। गंगाले विनिताको नाममा खोलेको फेक आइडीमा आफन्त, साथीभाइ, छरछिमेकी साथी हुन थाले।

फेसबुक खोलेको केही समयपछि उनले विनिताको नामबाट अश्लील फोटो फेसबुकमा हाल्न थालिन्। एकपछि अर्को गर्दै उनले अश्लील फोटो फेसबुकमा हालेपछि विनिताको छवि समाजमा बिग्रँदै गयो।

उता आफ्नो नामबाट फेसबुक आइडी खोलेर अश्लील फोटो हालेको घटनाबाट भने विनिता अनभिज्ञ नै थिइन्। समय बित्दै जाँदा विभिन्न व्यक्तिले आफ्नो बारेमा कुरा काट्न थालेपछि पो उनी झसङ्ग भइन्।

कुरा बिग्रिसकेपछि उनले सहारा लिइन् प्रहरीको। उजुरी परेपछि प्रहरीले पनि अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानले देखायो- यो काममा उनकै सौता गंगाको हात रहेछ। त्यसपछि प्रहरीले गएको शनिबार गंगाचन्द ठकुरीलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका एसपी सहकुलबहादुर थापाका अनुसार उनलाई अहिले विद्युतीय कारोबार अन्तर्गतको मुद्दामा कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। गंगा अहिले प्रहरी हिरासतमा छिन्। अरुलाई खनेको खाल्डोमा आफैं पर्छु भन्ने उनले सयद सोचेकी पनि थिइनन्।

* (नाम परिवर्तन गरिएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell