
युरो २०१६ को टीम अफ दि टुर्नामेन्टमा वेल्सका स्टार गारेथ बेल पर्न असफल भएका छन्। वेल्सका अन्य दुई खेलाडी टीम अफ दि टुर्नामेन्टमा पर्न सफल हुँदा बेल परेनन्।
युइएफएको १३ सदस्यीय प्राविधिक कमिटीले सार्वजनिक गरेको टीम अफ दि टुर्नामेन्टमा युरो च्याम्पियन पोर्चुगलका ४, उपविजेता फ्रान्सको २ तथा सेमिफाइनलिस्ट जर्मनीका ३ र वेल्सका २ खेलाडी परेका छन्।
पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि जिताएका क्रिस्टियानो रोनाल्डो, राफेल गुइरेइरो, पेपे र गोलरक्षक रुइ प्याट्रिसियो टीम अफ टुर्नामेन्टमा पर्न सफल भएका छन्। जर्मनीबाट मिडफिल्डर टोनी क्रुस, डिफेन्डरद्वय जेरोम बोएटेङ र जोसुअ किमिच परेका छन्। यस्तै फ्रान्सबाट एन्टोनी ग्रिज्मन र दिमित्री पायट तथा वेल्सबाट आरोन राम्से र जोए एलन परेका छन्।
टीम अफ दि टुर्नामेन्टमा ४–२–३–१ को शैलीमा छनोट गरिएको छ।
यसअघि २३ सदस्यीय टीम अफ दि टुर्नामेन्ट छनोट गरिँदै आए पनि यो पटक ११ खेलाडीको मात्र टीम सार्वजनिक गरिएको छ। रोनाल्डो र पेपे दोस्रो पटक टीम अफ दि टुर्नामेन्टमा पर्न सफल भएका हुन्। यसअघि रोनाल्डो सन् २००४ र पेपे २००८ मा टीम अफ दि टुर्नामेन्टमा परेका थिए।
ग्रिज्मन प्लेअर अफ दि टुर्नामेन्ट
फ्रान्सका एन्टोनी ग्रिज्मन युरो २०१६ का प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन्। सर्वाधिक ६ गोल गर्दै गोल्डेन बलको अवार्ड जितेका ग्रिज्मनले गोल्डेन बेस्ट प्लेअर बन्दै गोल्डेन बलको अवार्ड पनि जितेका छन्। २५ वर्षे फ्रेन्च फरवार्डले ६ गोल गर्नुका साथै २ असिस्ट गोलका लागि असिस्ट पनि गरेका थिए।युइएफएका १३ सदस्यीय प्राविधिक कमिटीले ग्रिज्मनलाई वेस्ट प्लेअर छनोट गरेको हो।
