
काठमाडौं : नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै माओवादी मन्त्रीहरु फिर्ता भएका छन्।
आज बसेको माओवादी हेडक्वार्टर बैठकको निर्णयपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आफ्ना मन्त्री फिर्ता बोलाइएको उल्लेख गरेका थिए। 'वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं,' प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'साथै हाम्रा पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं।'
वर्तमान सरकारका माओवादीका तर्फबाट ८ जना मन्त्रीहरु सहभागी थिए।
एमालेको सरकारलाई तत्कालीन एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दलको समर्थन छ।
३ सय ३८ मत ल्याई गत असोज २४ गते केपी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका थिए।
यी हुन् माओवादीबाट फिर्ता भएका मन्त्रीहरु
१. शक्तिबहादुर बस्नेत : गृह२. टोपबहादुर रायमाझी : ऊर्जा
३. गिरिराजमणि पोखरेल : शिक्षा
४. अग्निप्रसाद सापकोटा : वन तथा भूसंरक्षण
५. गणेशमान पुन : आपूर्ति
६. हरिबोल प्रसाद गजुरेल : कृषि विकास
७. रेखा शर्मा : सामान्य प्रशासन
८. उमेशकुमार यादव : सिँचाइ