
काठमाडौं : संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनमा आबद्ध मधेसकेन्द्रित दल र जनजाति समूहहरु यति बेला राजधानीमा अनसन बसिरहेका छन्।
पटकपटक भएका आन्दोलन र वार्ताबाट पनि समस्या नसुल्झिइरहेका बेला आज नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ तरंग उत्पन्न भएको छ। सरकारप्रति असन्तुष्ट भई आन्दोलनरत दलहरु माओवादीको यो निर्णयसँगै खुसी देखिएका छन्।
माओवादीले सरकारबाट समर्थन लिने निर्णयलाई आफूहरुले स्वागत गरेको बताउँछन्, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई।
'सुकेको रुखको ठुटो जस्तो विचार भएका प्रधानमन्त्री थिए,' राई भन्छन्, 'अब बन्ने सरकारमा वैकल्पिक सोच भएका प्रधानमन्त्री आउलान्।'
३६ दिनदेखि रिले अनसनमा रहेको गठबन्धनका दलहरु जुनै सरकार आए पनि संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएका छन्। राई भन्छन्, 'केपी राजनीतिक खेलाडी हुन्, कांग्रेसलाई प्रधानमन्त्री दिएर माओवादीलाई बाहिर्याउन बेर छैन।'