PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हिजो सुत्न लाग्दा मात्र थाहा पाएका थिए ओलीले प्रचण्डको 'मूभ', यसरी बित्यो प्रमको आजको दिन



मनोज सत्याल

हिजो सुत्न लाग्दा मात्र थाहा पाएका थिए ओलीले प्रचण्डको 'मूभ', यसरी बित्यो प्रमको आजको दिन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति साढे १० बजे मात्र नयाँ सरकार गठनबारे नेकपा माओवादी केन्द्र र कांग्रेसबीच समझदारी बनेको थाहा पाए। त्यसको केही घण्टाअघि मात्रै प्रचण्ड र ओलीबीच बालुवाटारमै लामो समय वान टु वान वार्ता भएको थियो।

माओवादी निकट पत्रकारहरुमार्फत् पाएको यो खबर प्रधानमन्त्रीलाई प्रेस सल्लाहकार प्रमोद दाहालले दिएका बेला उनी बालुवाटारमा सुत्ने तरखरमा थिए।

यद्यपि माओवादीले ‍औपचारिक निर्णय भने गरिसकेको थिएन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार बिहान मात्र सरकार छाड्ने निर्णय लिएका थिए। बिहान संसदीय दलको बैठकमा सरकार छाड्ने निर्णयबारे नेताहरुलाई प्रचण्डले जानकारी गराएका थिए। 

दिउँसो साढे १२ बजे मात्र माओवादी केन्द्रका नेताहरु समर्थन फिर्ताको पत्र बोकेर प्रधानमन्त्री कार्यालय पुगेका थिए।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पत्र लिएर प्रधानमन्त्री कार्यालय नगएपछि पत्र बोक्ने जिम्मेवारी सम्हालेका थिए जनार्दन शर्मा र हितराज पाण्डेले। 

प्रधानमन्त्रीकहाँ पत्र बुझाएपछि चिया पिएर फर्किएका थिए शर्मा र पाण्डे। 'प्रधानमन्त्रीले शुभकामना र बधाई दिनुभयो', जनार्दन शर्माले भेटबारे भने। 

प्रधानमन्त्रीले केही टिप्पणी गर्नु भएन भन्ने प्रश्नमा शर्माले जवाफ फर्काए - 'प्रधानमन्त्री नभनी किन बस्नुहुन्थ्यो। समय आएपछि खुलाउँला।' 
प्रधानमन्त्री ओलीले त्यसपछि सरकारमा सामेल रहेका माओवादी बाहेकका मन्त्रीहरुसँग छलफल गरे। उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, राप्रपाबाट मन्त्री भएका दीपक बोहोरा, आफ्नो पार्टीका मन्त्रीहरुसँग उनले छलफल गरेका हुन्। तर विजयकुमार गच्छदार भने छलफलमा पुगेनन्। 

सरकारका मन्त्रीहरुसँग परामर्शपछि ओलीले साँझ सत्तारुढ दलका नेताहरुको बैठक डाके। 

उनी साढे २ बजे बल्ल प्रधानमन्त्री कार्यालयबाट बाहिरिए। 'त्यतिञ्जेल प्रधानमन्त्रीले खाना समेत खानुभएको थिएन', प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।

हतास मुद्रामा सिंहदरबारबाट बाहिरिने क्रममा ओलीले भने - 'माओवादी केन्द्रको समर्थन फिर्ताको पत्र प्राप्त भयो। तद्अनुसार विचार गर्दैछु।'
त्योभन्दा अघि माओवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्यो। तर उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले भने यो सरकार केमा पर्यो  भन्ने संसदबाट मात्रै प्रमाणित हुने बताए। 

संसद फेस गर्ने प्रधानमन्त्रीको चाहनालाई साँझ बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले पनि अनुमोदन गर्‍यो। बैठकले अहिले राजीनामा नगर्ने र राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने निर्णय गर्‍यो। 

सत्तारुढ दलहरुको बैठक सम्पन्न भए लगत्तै एमाले स्थायी कमिटीको बैठक बालुवाटारमै बस्यो। यो समाचार तयार पार्दासम्म बैठक जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell