
काठमाडौं : आगामी महिना ब्राजिलको रियो द जेनेरियोमा अयोजना हुने रियो ओलम्पिकका लागि नेपाली पौडी खेलाडी शिरीष गुरुङ र गौरिका सिंह छनोट भएका छन्।
पौडीको अन्तर्राष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुबईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष अशोक बज्राचार्यले बताए।
रियो ओलम्पिकमा गुरुङले १०० मिटर फ्रिस्टायलमा र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले जानकारी गराए।
यससँगै रियो ओलम्पिकमा नेपालबाट सहभागिता जनाउने खेलाडी संख्या ७ पुगेको छ। यसअघि नै तेक्वान्दोकी निशा रावल, जुडोकी फुपु ल्यामु खत्री र आर्चरीका जितबहादुर मोक्तान वाइल्ड कार्ड मार्फत छनोट भइसकेका छन् भने एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई युनिभर्सल कोटा मार्फत छनोट भएका हुन्। रिमालले ५ हजार मिटर र भट्टराईले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।