काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ।
मोर्चाका संयोजक समेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई हटाउन मोर्चाको समर्थन हुने जानकारी दिए। व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको बताए।
'नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयनमा गर्ने व्यवहारका आधारमा सहयोग गर्ने/नगर्ने तय हुन्छ,' उनले भने।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा प्रमुख दलहरुबीच छलफल जारी छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भने पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ।