PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

​संसद बैठक स्थगित : बेल बज्न लाग्दासमेत किन रोकियो बैठक?



मनोज सत्याल

काठमाडौँ : बिहान ११ बजेका लागि तोकिएको संसद बैठक सुरुमा अपराह्न ३ बजेका लागि र त्यसपछि शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ। 

संसद बैठक बस्नुअघि प्रमुख दलका सचेतक र सभामुख बीच हुने कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सञ्चालन गर्ने भन्दै बेल बजाउन समेत आदेश दिइसकेपछि अकस्मात् संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको राप्रपा नेपालका सचेतक दीलनाथ गिरीले बताए। 

परामर्श समितिको बैठकमा एमाले र राप्रपा नेपालले बैठक सञ्चालन गर्ने प्रस्ताव राखेका थिए भने कांग्रेस र माओवादी केन्द्रले भने बैठक सार्ने प्रस्ताव गरेका थिए। 

गिरीका अनुसार बैठक सञ्चालन गर्ने र प्रचण्डलाई बोल्न दिने भनिएपछि प्रचण्डसँग छलफल गरिएको र सभामुखको च्याम्बरमा प्रचण्ड र देउवा प्रवेश गरेको केही समयपछि सूचना टाँस गरी बैठक स्थगित भएको हो। 

परामर्श समितिको सुझाव अनुसार किन बैठक सञ्चालन भएन भनेर हामीले सभामुखलाई सोधेका थियौँ, साउन ६ गते बैठक राख्न लाग्नुभएको हो भनी सोध्यौँ तर उहाँले जवाफ दिनुभएन, गिरीले भने। 

मालेका सचेतक अइन्द्रसुन्दर नेम्वाङले सभामुखले एकलौटी रुपमा सूचना निकालेर बैठक स्थगित भएको बताए। 

अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछि विधेयकहरु पास हुँदा सरकारको बहुमत देखिने भएकोले माओवादी संसद सञ्चालनको विपक्षमा रहेको आरोप सत्तापक्षका सांसदहरुले लगाएका छन्।  

सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार संसद बैठक असार ३१ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell