काठमाडौँ : सभामुख ओनसरी घर्तीले बुधबार ११ बजेका लागि डाकेको बैठक दलहरुबीच सहमति आवश्यक रहेको भन्दै ३ बजेका लागि सारिन्। तर ३ बजे पनि बैठक भने बसेन।
कार्यसूची आएपनि सभामुखले परामर्श भन्दै समय व्यतित गरिन् र बैठक अगाडि बढेन। किन चलेन त बुधबारको बैठक सभामुख ओनसरी घर्तीले दिइन् छ कारण-
१) दलहरुको बीचमा कुरा नमिलेपछि ११ बजेको सट्टा ३ बजे गरिएको थियो। ३ बजे राख्न कोशिस गरेँ राजनीतिक दलसँग परामर्श गरेँ। तर सहमति जुटेन।
२) कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका प्रचण्डसँग भेटे। विज्ञहरुसँग पनि छलफल गरेँ। सबै पार्टीका वकिल साथीसँग पनि छलफल गरेँ। कार्यालयका साथीसँग पनि छलफल गरेँ। अर्थ मन्त्रालयका सचिवहरुसँग पनि छलफल गरेँ। प्रधानमन्त्रीले समय दिन सक्नुभएन।
३) प्रतिपक्षीले विरोध गरे पनि, सत्तारुढ गठबन्धनका दलले सरकार छाडे पनि सकेसम्म सल्लाहले पारित गरेर जानु भए हुने भन्ने मेरो कन्सर्न हो। त्यसैले कोशिस गरेँ। तर सफल भएन।
४) दलहरुले पनि छलफल गरे तर उहाँहरुले बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनुभयो। सकरात्मक छलफल गरिरहेका छौँ। एक छिन भन्दाभन्दै २ घण्टा बित्यो। ३१ गते १ बजे फेरि कोशिस गर्छु। सहमति भएर विधेयक पारित गर्नुपर्छ।
५) संविधानले व्यवस्था गरेको समय सीमा अनुसार जेठ १५ पेश गरिएको बजेटको फूल बजेट पारित गर्दै थियौँ। यो महिनाभित्र आश्रित विधेयक पारित गर्ने कोशिसमा हामी छौँ। समय छ। ३० र ३१ गतेसम्म सहमति जुटाउन मैले अनुरोध गरेको छु।
६) तपाइँहरुको सरकार बनाउने, भत्काउने खेल भइराखोस्। यो लोकतान्त्रिक अभ्यास हो। जनताको टीकाटिप्पणी भए पनि संविधानले दिएको प्रावधान तपाइँहरुले प्रयोग गर्न सक्नुहुन्छ। बजेट नियमित प्रक्रिया हो यसलाई नरोक्नुस् भनेँ। ३१ गते १ बजे सहमतिमै सकेसम्म बाँकी विधेयक पारित हुन्छन् भन्ने आशा लिएको छु।
(समाचारमा प्रयोग भएको पहिलोपोस्टको फाइल फोटो हो)