PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

सहयोग संकलन स्थगित गर्दै धुर्मुस-सुन्तली, जुट्यो ४ करोड ७५ लाख



पहिलोपोस्ट

सहयोग संकलन स्थगित गर्दै धुर्मुस-सुन्तली, जुट्यो ४ करोड ७५ लाख

काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणका लागि उपलब्ध सहयोगले उद्देश्य पूरा गर्न लागेको जनाउँदै आर्थिक सहयोग संकलन स्थगित गर्न लागिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ।
 
अनुमानित ५ करोड लागतमा फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट अहिलेसम्म ४ करोड ७५ लाख रुपैयाँ संकलन भइसकेको छ। अब बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैयाँ आवश्यक छ। सहयोग संकलन गरिरहेका संघसंस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पूरा हुने भएकाले संकलित रकम छिटो पठाउन पनि फाउण्डेशनले अनुरोध गरेको छ।
 
फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्वनिर्धारित लक्ष्य हासिल गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले बताइन्। 'अब २५ लाख सहयोग जुटेपछि हालका सहयोग संकलन कार्य स्थगित गर्नेछौं,' उनले भनिन्, 'पछि लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिनेछ।'
 
वैशाख १२ गते शिलान्याश गरेरी २९ गतेदेखि मेलम्ची-८, सिन्धुपाल्चोकमा बस्ती निर्माण सुरु गरिएको थियो।
 
अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैयाँ खर्च गरेको छ। सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गरेको थियो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण, मेलम्ची नगरपालिकासँगै हजारौं सहयोगीहरुका कारण निर्माण कार्यले तीव्रता पाएको फाउण्डेशनको भनाइ छ।
 
दसैंअघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने काम र गारो उठाउने काम जारी राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए। बस्तीमा पानी, सडकको मर्मत लगायतका भौतिक पूर्वाधारको विकाससँगै काम अघि बढाउन सजिलो भएको उनको भनाइ छ। 'तर, वर्षाका कारण निर्माण सामग्री ढुवानीमा समस्या देखापरेको छ,' उनले भने, 'यसले गर्दा अनुमानित लागत नै बढ्ने हो कि भन्ने चिन्ता लागिरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell